मेघालयमा 'नेपाली कामदारको ह��्या', कोइलाखानीमा 'बुझेर' मात्र काम गर्न जान आग्रह

सन् २०१८ को डिसेम्बर २० मा मेघालयको एउटा अवैध कोइलाखानीमा फसेका १५ जना कामदार निकाल्न सुरुङभित्र प्रवेश गर्दै भारतीय उद्धार टोली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर - सन् २०१८ को डिसेम्बर २० मा मेघालयको एउटा अवैध कोइलाखानीमा फसेका १५ जना कामदार निकाल्न सुरुङभित्र प्रवेश गर्दै भारतीय उद्धार टोली
  • Author, विष्णु पोखरेल
  • Role, बीबीसी न्यूज नेपाली

पूर्वोत्तर भारतमा रोजगारीका लागि जाँदा "यथेष्ट जानकारी लिएर" तथा "कानुनले रोक नलगाएका क्षेत्रमा" मात्र काम गर्न जान नेपाली अधिकारी तथा आप्रवासी कामदारका क्षेत्रमा कार्यरत भारतीय अधिकारकर्मीले नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्।

भारतको पूर्वोत्तर राज्य मेघालयको ग्रामीण क्षेत्रस्थित एउटा 'अवैध कोइलाखानी'मा काम गर्ने कम्तीमा एक नेपाली नागरिकको हत्या भएको पुष्टि भएसँगै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

त्यहाँ चार जनाको हत्या भएको विवरण आएको थियो।

तीमध्ये एक नेपाली नागरिक रहेको पुष्टि भएको छ। अर्का एक नेपालीभाषी व्यक्तिको पनि हत्या भएको बताइएको छ।

विशेष गरी पूर्वोत्तर भारतका विभिन्न राज्यका कैयौँ स्थानमा "अवैध" कोइलाखानी सञ्चालनमा रहेको जानकारहरू बताउँछन्।

विगतमा त्यस्ता कोइलाखानीमा कतिपय अवस्थामा नेपाली नागरिकहरू "बँधुवा मजदुर"का रूपमा समेत काम गर्न बाध्य भएको विवरण आउने गरेका थिए।

उनीहरूका भनाइमा स्थानीयवासीलाई ती व्यावसायिक गतिविधिहरू "अवैध" रहेको जानकारी भए पनि अधिकांश नेपाली मजदुरहरूलाई त्यसबारे थाहा हुँदैन।

त्यसले गर्दा उनीहरू पक्राउ पर्ने र कानुनी कारबाहीमा समेत पर्ने गरेका छन्।

अहिले के भएको हो?

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा सुरेन्द्र थापाका अनुसार मेघालयको ग्रामीण पहाडी क्षेत्रमा "चार नेपालीको हत्या भएको" विवरण आएपछि दूतावासले त्यसबारे भारतको विदेश मन्त्रालयमार्फत् चासो व्यक्त गरेको थियो।

"त्यसपछि हामीले त्यहाँको स्थानीय प्रशासनसँग र मेघालयस्थित नेपाली समुदायसँग पनि सम्पर्क गर्‍यौँ," उनले भने।

"उक्त घटनापछि स्थानीय प्रहरीले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेर अनुसन्धान अघि बढाएको रहेछ। त्यस क्रममा इलामका रवि राई र सुनसरीको धरानका राजेश राईको पनि हत्या भएको थाहा भएको जानकारी आयो।"

यद्यपि इलामका रवि राईका पिता नै उक्त क्षेत्रमा गएर बसोबास गरिरहेको र उनी उतै जन्मिएको विवरण आएको छ।

"अवैध कोइलाखानी"मा काम गर्ने नेपाली नागरिकको हत्या भएपछि उनको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन तथा हत्यारा पत्ता लगाई कारबाही गर्नका लागि दूतावासले भारत सरकारलाई अनुरोध गरिसकेको डा थापाले बताए।

उक्त हत्याको कारण अहिलेसम्म नखुलेको र स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको थापाले बताए।

अठार वर्ष पनि नपुगेका नेपाली बालबालिकासमेत अझै मेघालयका कोइलाखानी��रूमा जाने क्रम जारी रहेको जानकारहरू बताउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अठार वर्ष पनि नपुगेका नेपाली बालबालिकासमेत अझै मेघालयका कोइलाखानीहरूमा जाने क्रम जारी रहेको जानकारहरू बताउँछन्

नेपालीहरू कोइलाखानी जाने क्रम जारी

मेघालयमा नेपाली नागरिकको हत्या भएपछि उक्त क्षेत्रमा सञ्चालित अवैध कोइलानीमा नेपालीहरू जाने क्रम नरोकिएको उजागर भएको जानकारहरू बताउँछन्।

भारतको 'न्याश्नल ग्रीन ट्राइब्यूनल'ले १० वर्षअघि 'र्‍याटहोल' भनिने पहरामा साँघुरा सुरुङ बनाएर गरिने कोइलाको उत्खननलाई रोक लगाएको थियो। त्यस्ता सुरुङहरू तीनदेखि चार फीट चौडा हुन्छन् र पहरामा तेर्सो बनाएर खनिएका हुन्छन्।

ती सुरुङमा प्राय: एक जना मात्र प्रवेश गरेर कोइला खन्न सकिने बताइन्छ।

प्रतिबन्धपछि पनि त्यस्ता सुरुङबाट कोइला उत्खनन कार्य जारी रहेको मेघालय उच्च अदालतले गठन गरेको एउटा समितिको प्रतिवेदनमा पनि उल्लेख भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनीहरूले केहीअघि प्रकाशित गरेका समाचारहरूमा उक्त प्रतिवेदनलाई उल्लेख गर्दै त्यस्तो विवरण दिइएको पाइएको हो।

त्यस्ता अवैध सुरुङहरूमा नेपालीहरू जाने क्रम नरोकिएको मेघालयको राजधानी सिलोङस्थित इम्पल्स एनजीओ नेटवर्ककी अध्यक्ष हसिना खार्भीले बताइन्।

उक्त संस्थाले लामो समयदेखि अवैध कोइलाखानीमा कार्यरत विशेष गरी नेपाल र बाङ्ग्लादेशबाट ल्याइएका बाल तथा बँधुवा मजदुरहरूलाई मुक्त गराउने काम गर्दै आएको छ।

उक्त संस्थाले त्यस्ता कोइलाखानीमा रोक लगाउन पनि अभियान चलाउँदै आएको थियो।

"सन् २०१४ मा प्रतिबन्ध लाग्नुभन्दा अघिको जस्तो धेरै नेपालीहरू नआए पनि आउन क्रम भने रोकिएको छैन," खार्भीले भनिन्।

"यस्ता अवैध कोइलाखानीमा दुर्घटना भएका बेलामा मात्र त्यस्ता कुरा बाहिर आउँछन् नत्र भूमिगत रूपमा कामदार ल्याउने र काममा लगाउने चलन जारी छ।"

खार्भीले जनाएअनुसार विभिन्न अध्ययनहरूले पहिले त्यस्ता कोइलाखानीमा ७०,००० जनाभन्दा बढी बालबालिकालाई काममा लगाइएको पाइएको थियो। तीमध्ये अधिकांश नेपाली र बाङ्ग्लादेशी थिए।

"अहिले पनि १८ वर्ष उमेर नपुगेका नेपाली बालबालिकाहरू यस्ता कोइलाखानीमा आइरहेको भेटिन्छ, तर त्यो पहिले जस्तो व्यापक छैन," उनले भनिन्।

कोइलाखानीको साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोइलाखानीको साङ्केतिक तस्बिर

नेपालीलाई 'अवैध कोइलाखानी'मा काम नगर्न आग्रह

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख थापाले विशेष गरी पूर्वोत्तर भारतमा सञ्चालित "अवैध" व्यवसाय��रूमा काम गर्न नजान नेपालीहरूलाई आग्रह गरे।

"हामीले अहिले ट्राभल एड्भाइजरी जारी त गरेका छैनौँ तर म नेपाली नागरिकलाई यहाँको राज्यले अवैध घोषणा गरेका क्षेत्रमा काम गर्न नजानका लागि आग्रह गर्छु," उनले भने।

"त्यसरी जाँदा समस्यामा पर्न सकिने भएकाले जानुअघि नै सतर्कता अपनाउनुपर्छ।"

खार्भी पनि आफ्नो ज्यान जान सक्ने भएकाले नेपाली कामदारहरूलाई विशेष गरी मेघालयका अवैध कोइलाखानीमा जाने कोसिस नगर्न आग्रह गर्छिन्।

उनले भनिन्, "त्यस्ता कोइलाखानीहरूमा एकदमै असुरक्षित रूपमा काम गर्नुपर्छ र ज्यान जाने खतरा उच्च हुन्छ।"

"यसबारे जनचेतना जगाउनु जरुरी छ। नेपाल र भारतबीच खुला सीमा भएकाले नेपालीहरूलाई काम गर्न आउन सजिलो छ।"

"त्यसैले म नेपाल सरकारसँग सबै नाका र सीमा क्षेत्रमा अवैध कोइलाखानीमा काम गर्न जाँदा यस्तो असर पर्न सक्छ भनेर बोर्डहरू राखियोस् भन्ने आग्रह गर्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।