चन्द्रमामा रात सकिएपछि जापानी ल्यान्डर जाग्यो, फेरि पठायो तस्बिर

जाक्साले उपलब्ध गराएको यो चित्रमा सौर्य प्यानलहरू सूर्यतिर नफर्किने गरी स्लिम चन्द्रमामा अवतरण गरेको देखिन्छ

तस्बिर स्रोत, JAXA

तस्बिरको क्याप्शन, जाक्साले उपलब्ध गराएको यो चित्रमा जापानी ल्यान्डरका सौर्य प्यानलहरू सूर्यतिर फर्किएका छैनन्

चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको 'ल्यान्डर' यान अझै सक्रिय रहेको सङ्केत प्राप्त भएको छ। ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि अनि चन्द्रमामा रात परेपछि उक्त 'ल्यान्डर'ले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा) को थियो।

जाक्साका अनुसार चन्द्रमामाा रात सकिएपछि 'स्लिम'लाई पृथ्वीबाट "निर्देशन" दिइएको र त्यसले पठाएको प्रतिक्रिया पनि प्राप्त भएको छ। स्लिम 'स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन' को सङ्क्षिप्त रूप हो।

चन्द्रमामा हुने रातको अवधि पृथ्वीमा दुई साताजति हुन्छ। रात पर्दा चन्द्रमामा निस्पट्ट अन्धकार हुन्छ र तापक्रम पनि निकै घट्छ।

गत महिना चन्द्रमामा अवतरण गर्दा गर्दा उक्त 'ल्यान्डर' उत्तानो अवस्थामा थियो। त्यसमा जडित सौर्य प्यानलहरू सूर्यतिर नफर्किएकाले ऊर्जा प्रणालीमा सङ्कट उत्पन्न भएको थियो। त्यसैले 'स्लिम'लाई निष्कृय अर्थात् ''स्लीप मोड' मा राखिएको थियो।

सूर्यको प्रकाश अर्को दिशाबाट प्राप्त भएपछि उक्त यानले पृथ्वीमा तस्बिरहरू पठाउन सकेको थियो। तर चन्द्रमामा रात परेपछि फेरि त्यसलाई बन्द गरिएको थियो।

ठूलो चुनौती पार

जाक्साका अनुसार 'स्लिम' को निर्माण कठोर चन्द्ररात्रिमा हुने अवस्था खप्ने गरी भएको थिएन।

त्यतिबेला उक्त निकायले चन्द्रमामा फेरि सूर्योदय भएपछि मध्यफेब्रुअरीदेखि 'स्लिम'का सौर्य प्यानलमा प्रकाश पर्ने र उक्त 'ल्यान्डर'लाई फेरि सञ्चालन गर्न प्रयास गर्ने जनाएको थियो।

"चिसो चन्द्ररात्रिपछि 'स्लिम' आफैँ 'रिबूट' भएको समाचार महत्त्वपूर्ण छ," यूकेस्थित ओपन यूनिभर्सटीका सिमिअन बार्बरले भने।

"चन्द्रमामा दीर्घकालीन रोबटिक वा मानवसहितको अभियान चलाउने हो भने चन्द्रमाको रातमा जोगिनु भनेको एउटा ठूलो प्राविधिक चुनौती पार गर्नु हो।"

'स्लिम' चन्द्रमाको मध्यरेखानजिकै ओर्लिएको थियो।

डा बार्बरका अनुसार त्यहाँ मध्याह्नतिर तापक्रम १०० डिग्री सेल्सिअस पुग्छ तर राति ह्वात्तै झरेर माइनस १३० डिग्री हुन्छ।

अवतरण गरेको केही समयपछि नै 'ल्यान्डर'सँगको सञ्चारसम्पर्क विच्छेद गरेको जानकारी जाक्साले दिएको थियो।

त्यतिबेला त्यहाँ मध्यदिन थियो र सञ्चार गर्न प्रयोग हुने उपकरण निकै तातेको थियो।

नयाँ तस्बिर

स्लिमले पठाएको चन्द्रमाको तस्बिर

तस्बिर स्रोत, JAXA

तस्बिरको क्याप्शन, स्लिमले अहिले पठाएको चन्द्रमाको तस्बिर

अहिले जाक्साले सामाजिक सञ्जाल एक्समा माथिको तस्बिर सार्वजनिक गर्दै यो 'ल्यान्डर'ले खिचेको र 'ल्यान्डर' पुनः सक्रिय भएको जानकारी दिएको छ।

जाक्साका अनुसार उपकरणको तापक्रम घटेपछि 'ल्यान्डर'लाई फेरि सञ्चालन गर्ने तयारी गरिएको बताएको छ।

पहिला छोटो अवधिका लागि जगाइँदा 'स्लिम'ले आफू वरिपरिको ठाउँको अध्ययन गरेको थियो र पृथ्वीमा नयाँनयाँ तस्बिर पठाएको थियो।

यो 'ल्यान्डर'ले अब आफ्नो उद्देश्यअनुरूप काम गर्न सक्ने जाक्साको आशा छ।

इन्फ्रारेड क्यामरा प्रयोग गरेर स्लिमले माथि घेराभित्र देखिने चट्टान केबाट बनेको छ भन्ने अध्ययन गर्ने जाक्साले जनाएको थियो

तस्बिर स्रोत, Jaxa

तस्बिरको क्याप्शन, इन्फ्रारेड क्यामरा प्रयोग गरेर 'स्लिम'ले माथि घेराभित्र देखिने चट्टान केबाट बनेको छ भन्ने अध्ययन गर्ने जाक्साले जनाएको थियो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।