क्यामेरामा कैद भयो समुद्रको सबैभन्दा गहिराइमा पौडिने माछा

स्नेलफिश

तस्बिर स्रोत, MINDEROO-UWA DEEP SEA RESEARCH CENTRE

वैज्ञानिकहरूले समुद्रमा अभूतपूर्व गहिराइमा पौडिरहेका एकखाले माछाको भिडिओ खिचेका छन्।

यसलाई अहिलेसम्मकै सबैभन्दा गहिराइमा गरिएको यस्तो प्रकारको अवलोकन भनिएको छ।

स्नेलफिश वर्गमा पर्ने सिउडोलिपारीस माछा ८,३३६ मिटर अर्थात् २७,३३९ फिट गहिराइमा पौडिरहेको भेटिएको छ।

दक्षिण जापानको इजी ओगास्वारा ट्रेन्चबाट खसालिएको एउटा स्वचालित ल्यान्डरले उक्त भिडिओ लिएको थियो।

बन्यो कीर्तिमान

उक्त अनुसन्धानको नेतृत्व गरेका एक जना प्रमुख वैज्ञानिकले त्यो स्थान कुनै पनि माछा जीवित रहनसक्ने सर्वाधिक गहिरो बिन्दु वा त्यसबाट सबैभन्दा नजिकको क्षेत्र हुनसक्ने बताए।

अहिलेको स्थानभन्दा थप दक्षिणतर्फ प्रशान्त महासागरमा अवस्थित मारिआना ट्रेन्चमा यसअघि ८,१७८ मिटर गहिराइमा एउटा माछा फेला परेको थियो।

नयाँ खोजले विगतको गहिराइको किर्तीमानलाई १५८ मिटरले पछि पारेको छ।

प्राध्यापक एलान जेमिसनले बीबीसीसँग भने, “यदि यो कीर्तिमान पनि तोडियो भने त्यो लगभग मिनेट अथवा सम्भवतः केही मिटर बढीले मात्रै हुनेछ।”

समुद्रको गहिराइबारे अध्ययन गर्ने वेस्ट्रन अस्ट्रेलिया विश्वविद्यालयका वैज्ञानिकहरूले एक दशकअघि समुद्रभित्र ८,२०० मिटरदेखि ८,४०० मिटरसम्म माछा फेलापर्नसक्ने बताएका थिए।

संसारभरि १० वर्ष लगाएर गरिएका खोजले त्यसलाई पुष्टि गरेको छ।

प्राध्यापक जेमीसनले उपकरणसहित प्रविधि समुद्रमा पठाउने बारे विज्ञता हासिल गरेका छन्

तस्बिर स्रोत, FIVEDEEPS.COM

तस्बिरको क्याप्शन, प्राध्यापक जेमीसनले उपकरणसहित प्रविधि समुद्रमा पठाउने बारे विज्ञता हासिल गरेका छन्

अहिले फेला परेको सानो सिउडोलिपारीस डुङ्गाको मद्दतले तल खसालिएको एउटा क्यामेरा प्रणाली जडित उपकरणबाट लिइएको थियो।

त्यो उपकरणको ‘फ्रेममा’ समुद्री जीवहरूलाई आकर्षित गर्न चारो पनि राखिएको थियो।

ठ्याक्कै प्रजाति छुट्याउन नमुनाहरू सङ्कलन नगरिएको भए पनि जापान ट्रेन्चको नजिकै ८,०२२ मिटरको गहिराइमा पनि कैयौँ माछाहरू फेला परेका थिए।

तिनीहरू पनि स्युडोलिपारिस बेल्याइभी प्रजातिका स्नेलफिश नै थिए र उनीहरूले सर्वाधिक गहिरो स्थानमा भेटिएका माछाको कीर्तिमान बनाएका थिए।

रेखा
रेखा

स्नेलफिश के हो

स्नेलफिश विशिष्ट प्रकारका जीव हुन्। तिनीहरूका लगभग ३०० वटा प्रजाति छन्।

पानीमा भेटिने यी जीवमध्ये अधिकांश नदीको स्वच्छ पानी र नुनिलो पानी भएका समुद्री क्षेत्र ��क अपासमा जोडिने क्षेत्रमा बस्ने गर्छन्।

स्नेलफिशहरू आर्टिक र एन्टार्टिक क्षेत्रको चिसो पानीमा पनि जीवित रहन सक्छन्।

त्यसबाहेक अत्यधिक चाप कायम रहने विश्वको गहिरा समुद्री क्षेत्रहरूमा पनि कतिपय प्रजाति पाइन्छन्।

आठ किलोमिटर तल उनीहरूले ८० मेगापास्कल अर्थात् समुद्रको सतहको तुलनामा ८०० गुणा बढी चाप महसुस गर्नुपर्छ।

चीप चीपे खालको उनीहरूको शरीरले तीनलाई बाँच्न मद्दत गर्छ। ट्रेन्चहरूमा सहजै पाइने कडा हाड भएका साना जीवहरू उनीहरूले खाने गर्छन्।

ल्यान्डरमा जडित उपकरणमा माछालाई लोभ्याउन चारो पनि हालिएको थियो

तस्बिर स्रोत, MINDEROO-UWA DEEP SEA RESEARCH CENTRE

प्रमुख अनुसन्धानकर्ता के भन्छन्

प्राध्यापक जेमिसनका अनुसार मारिआना ट्रेन्च भन्दा गहिरो बिन्दुमा इजु ओगास्वारा ट्रेन्चमा माछा फेला पर्नु त्यहाँको तातो पानीका कारण हुनसक्ने पनि बताए।

उनले भने, “हामीले त्यहाँ सबैभन्दा गहिरो बिन्दुमा माछा भेटाउन सकिन्छ र फेला पर्ने माछा स्नेलफिश हुन्छ भनेका थियौँ।

“मानिसहरूले समुद्रका गहिरो भागहरूका बारेमा हामीलाई केही थाहा छैन भन्दा मलाई चित्त दुख्छ। हामीलाई थाहा छ। अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको छ।”

प्राध्यापक जेमीसन मिन्डेरो-यूडब्ल्यूए डिप रिसर्च सेन्टरका संस्थापक हुन्।

यसपटक उनको सेन्टरले टोक्यो युनिभर्सिटी अफ मरिन साइन्स एन्ड टेक्नोलोजीका विज्ञहरूसँग काम गरेको थियो।

स्क्टल्याण्डमा जन्मिएका उनलाई हाम्रा समुद्रको सबैभन्दा गहिरो विन्दुमा रहेका माछा मात्र नभई गहिरो स्थानमा रहेका अक्टोपस र जेलिफिश जस्ता प्रजाति पत्ता लगाएका थिए।