दुई दशकअघि नेपाल प्रवेश गरेको सङ्क्रमणको निरन्तर बढ्दो जोखिम

झुलभित्र रहेकी महिला

तस्बिर स्रोत, EDCD/WHO NEPAL

  • Author, अशोक दाहाल
  • Role, बीबीसी न्यूज नेपाली

नेपालमा देखा परेको दुई दशक मात्रै भएको डेङ्गी सङ्क्रमणले यो वर्षको बर्खा याममा जोखिम तीव्र बनाउने आकलन अधिकारीहरूले गरेका छन्।

सन् २००४ मा नेपालमा पहिलो पटक पहिचान भएको डेङ्गी सङ्क्रमण यो वर्ष असार पहिलो सातासम्ममा ७२ वटा जिल्लामा फैलिइसकेको तथ्याङ्क छ।

विगत दुई वर्ष लगातार ७७ वटै जिल्लामा देखा परेको लामखुट्टेबाट सर्ने यो सङ्क्रमणबाट यो वर्षको जुन महिनाको तेस्रो सातासम्म करिब १२ सय जना सङ्क्रमित भइसकेका छन्।

यो वर्ष पनि डेङ्गी सङ्क्रमण अघिल्ला वर्षहरूको भन्दा कम नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाख��का प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।

अघिल्लो वर्ष कम सङ्क्रमण भएका ठाउँमा यो वर्ष सङ्क्रमण बढ्नसक्ने चिन्ता स्वास्थ्य अधिकारी र विज्ञहरूको छ।

"यो वर्ष डेङ्गी देखिने जिल्ला गतवर्ष भन्दा फरक हुन्छ भन्ने हाम्रो विगतको तथ्याङ्कले देखाउँछ," दाहालले भने।

नेपालमा विगत दुई वर्षको बर्खायाममा डेङ्गीको सङ्क्रमण उच्च देखिएको थियो।

यो वर्ष पनि पहिलो पाँच महिनामा सङ्क्रमण उच्च देखिएका कारण डेङ्गी सङ्क्रमण उच्च हुने समय जुलाईदेखि नोभेम्बरबीचमा जोखिम बढ्ने आकलन गरिएको छ।

पानी लगातार परिरहँदा डेङ्गी सार्ने लामखुट्टेको जीवनचक्र तोडिने सम्भावना हुन्छ। तर केही दिन पानी र केही समय घाम लाग्ने मौसम भएका बेला डेङ्गीको सङ्क्रमण उच्च देखिने अधिकारीहरूको अनुभव छ।

यो वर्ष मनसुनी वर्षा सामान्यभन्दा धेरै हुने प्रक्षेपण गरिएका कारण पनि लामखुट्टेहरूको सक्रियता बढ्नसक्ने डा. दाहालजस्ता विज्ञहरूको आकलन छ।

"यसपालि गतवर्षभन्दा अलि बढी पानी पर्ने भन्ने मौसम पूर्वानुमान छ। तर त्यो पानी कसरी पर्छ भन्नेमा सङ्क्रमण भर पर्छ," उनले भने।

जोखिम बढ्ने चिन्ता किन?

डेङ्गी वा डेँगु कसरी सर्छ

शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालका चिकित्सक, सङ्क्रामक रोग विज्ञ शेरबहादुर पुन नेपालमा लामखुट्टेको सङ्ख्यामा देखिएको वृद्धिका कारण पनि पछिल्ला वर्षहरूमा डेङ्गीको सङ्क्रमण उच्च भएको ठान्छन्।

“डेङ्गीको मुख्य बाहक लामखुट्टे हो। हाम्रै अनुभवमा सन् २०१० अघि काठमाण्डूमा लामखुट्टे खासै देखिन्नथ्यो। अहिले लामखुट्टे धेरै जिल्लामा पुगिसकेको छ,” पुनले बीबीसी न्यूज नेपालीसँग भने।

“त्यसको सङ्ख्या एक दशकको अन्तरालमा यति वृद्धि भइसक्यो कि यो धेरै जिल्लाहरूमा फैलिइसक्यो। त्यसकारण पनि डेङ्गी घट्ने भन्दा झन् झन् बढ्ने सम्भावना देख्छु म।”

गतवर्ष डेङ्गी देखिएको ठाउँमा मानिसहरूमा सचेतना बढी हुने र गतवर्ष सङ्क्रमित भएका मानिसहरूमा प्रतिरोधी क्षमता कायमै रहने भएका कारण यो बर्खामा फरक क्षेत्रमा डेङ्गी फैलने जोखिम उच्च हुने आकलन गरिएको छ।

"डेङ्गी सार्ने भाइरसका चारवटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपबाट व्यक्ति सङ्क्रमित भयो भने सबै सेरोटाइपबाट १८ देखि २० महिना सुरक्षित राख्नसक्ने प्रतिरोधात्मक क्षमता विकास गर्ने कारण पनि लगत्तैको वर्ष त्यो ठाउँमा डेङ्गीका बिरामी कम देखिन्छन्," डा. दाहाल भन्छन्।

डेङ्गीका कतिपय बिरामीमा कुनै पनि लक्षण नदेखिने भएका कारण वास्तविक सङ्क्रमण भन्दा सरकारले राख्ने सङ्क्रमितको तथ्याङ्क कम हुने अधिकारीहरू ठान्छन्।

डा. पुन डेङ्गीको सङ्क्रमण बढेको मात्र नभई यसको जोखिम पनि बढेको बताउँछन्।

“आगामी वर्षहरू हाम्रा लागि थप चुनौतीपूर्ण छन् जस्तो लाग्छ,” डा पुन भन्छन्।

“किनभने यो लामखुट्टे आफैँमा पहिलाभन्दा फरक भएको छ। पहिला राती टोक्ने गर्थ्यो। अहिले एडिस जातको लामखुट्टे दिनमा बढी सक्रिय भएर टोक्ने हो। यो समयमा हामी कार्यस्थल, विद्यालय लगायतका ठाउँमा व्यस्त भएको हुनाले टोकेको थाहा पाउँदैनौँ।”

गतवर्षभन्दा धेरै सङ्क्रमण

लामखुट्टेको जीवनचक्र

अधिकारीहरू ज्यानुअरीबाट मे सम्मको पाँच महिनाको तथ्याङ्कमा अघिल्लो वर्षभन्दा यो वर्ष डेङ्गीका सङ्क्रमित धेरै देखिएको बताउँछन्।

अघिल्लो वर्षको मे महिनासम्म जम्मा ७७९ जनामा डेङ्गी सङ्क्रमण भएकोमा यो वर्षको यही अवधिमा डेङ्गीबाट सङ्क्रमित हुने १,०८२ जना पुगेका छन्। यो वर्षको मध्य जुनसम्म भने अघिल्लो वर्षको तुलनामा कम सङ्क्रमित देखिएको ठानिएको छ।

नेपालमा डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै जुलाईदेखि नोभेम्बरको बीचमा देखिने गरेको तथ्याङ्कले देखाउँछन्।

गतवर्ष जुलाईमा ६ हजारभन्दा धेरै र अगस्टदेखि अक्टोबरसम्म प्रत्येक महिना १२ हजारभन्दा धेरै जनामा डेङ्गी सङ्क्रमण भएको थियो। सन् २०२२ को सेम्टेम्बरमा २७ हजारभन्दा धेरै जनालाई सङ्क्रमण भएको थियो। यो एक महिनामा भएको अहिलेसम्मकै धेरै सङ्क्रमण हो।

सन् २०२३ को अगस्टमा पनि १४ हजारभन्दा धेरै जनामा डेङ्गी सङ्क्रमण भएको थियो।

गतवर्ष सुनसरी, मोरङ, धादिङ, झापा र काठमाण्डू सहितका जिल्लामा डेङ्गीको सङ्क्रमण उच्च देखिएको थियो।

जुन १५ सम्मको तथ्याङ्क अनुसार यो वर्ष सबैभन्दा धेरै डेङ्गी सङ्क्रमण काठमाण्डू, झापा, चितवन, मकवानपुर, तनहुँ र सिन्धुपाल्चोक जस्ता जिल्लाहरूमा फैलिएको छ।

यो वर्ष हालसम्म मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्लामा मात्रै डेङ्गी पुष्टी भएको छैन।

कुन वर्ष कति सङ्क्रमित भए

नेपालमा सन् २००४ मा आयातित रोगका रूपमा डेङ्गी नेपालमा भित्रिएको थियो। तर अहिले यो रैथाने रोगका रूपमा विकास भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

सुरुमा छिटपुट देखिएको सङ्क्रमण सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो र सर्वाधिक धेरै सङ्क्रमण चितवनमा पाइएको थियो।

नेपालमा डेङ्गी भित्रिएको छ वर्षपछि सन् २०१० यसको सङ्क्रमण केही उच्च देखिएको थियो। त्यसपछि सन् २०१९ मा यसको सङ्क्रमण उच्च भयो। सन् २०२२ मा अहिलेसम्मकै उच्च डेङ्गीबाट ५४,७८४ जना सङ्क्रमित भएका थिए।

अधिकारीहरूले उक्त वर्ष डेङ्गी सङ्क्रमणका रोगका कारण इतिहासकै सर्वाधिक ८८ जनाको ज्यान गएको बताएका थिए। गत वर्ष पनि २० जनाले डेङ्गीबाट ज्यान गुमाएका थिए।

गतवर्ष ५२,७९० जनामा भएको सङ्क्रमण यो वर्षको पहिलो साढे पाँच महिनामा करिब १,१७५ जनामा देखिइसकेको छ।

डेङ्गीका मुख्य छ लक्षण

  • उच्च ज्वरो आउने
  • बेस्सरी टाउको दुख्ने
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने
  • शरीरमा राता बिमारहरू देखा पर्ने
  • आँखाको गेडी दुख्ने
  • वाकवाकी लाग्ने वा बान्ता हुने
डेङ्गीका मुख्य छ लक्षण

कसरी जोगिने

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
  • दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने

उपचार के हो?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सनोफी पाश्चर कम्पनीले उत्पादन गरेको डेङ्भ्याक्सिया र ताकेडाले विकास गरेको क्यूडेङ्गा नामक खोपहरू अहिले कतिपय देशहरूमा उपलब्ध छन्।

अमेरिकाले उत्पादन गरेको अर्को एउटा खोप पनि अहिले परीक्षणको क्रममा छ।

तर नेपालमा कुनै खोप आइसकेका छैनन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. दाहाल नेपालमा तत्काल खोप ल्याउनेबारे पहल अघि नबढेको बताउँछन्।

सङ्क्रामक रोग विज्ञ डा. पुन डेङ्गीका खोपहरू विकास भए पनि यसको सुरक्षा र प्रभावकारिताबारे अझैसम्म आशङ्का निवारण नभएको बताउँछन्।

“यसको खोप अझैसम्म आम प्रयोगमा आइसकेको छैन। खोप विश्वसनीय र सुलभ भएमात्रै धेरै देशहरूले यसको प्रयोग गर्नसक्छन्,” उनले भने।

डेङ्गी हुँदा प्लेटलेट्स बढाउने खानेकुरा

खोप नभएका कारण नेपालमा डेङ्गी भइहाले चिकित्सकको सल्लाह अनुसार उपचार गर्न अधिकारीहरू सुझाउँछन्। कतिपयलाई डेङ्गीका लक्षण सामान्य देखिने भएका कारण घरमै आराम गरेर यो निको हुनसक्छ। तर केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।

डा. दाहाल करिब पाँच प्रतिशत सङ्क्रमितहरूलाई मात्र जटिल लक्षण देखा पर्ने बताउँछन्।

"सामान्य प्रकृतिको डेङ्गी आफैँ पनि ठिक हुन्छ। तर जटिल प्रकृतिका लक्षण देखिन लागे भने छिटोभन्दा छिटो अस्पताल पुग्ने र चिकित्सकको परामर्श लिने कुरालाई हामीले पहिलो प्राथमिकता राख्नुपर्छ," डा. दाहाल भन्छन्।

यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले समयमै अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

रोकथामको प्रयास कस्तो छ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

तस्बिर स्रोत, EDCD Nepal

सरकारी निकायहरूले डेङ्गी रोकथामका लागि कार्ययोजना र रणनीतिहरू बनाएर काम गरिरहेको दाबी गर्दै आएका छन्। तर रोकथामका लागि पर्याप्त काम नभएको गुनासो सर्वसाधारणको छ।

डा. पुन डेङ्गी रोकथामका लागि अहिलेको समयमा सबैभन्दा धेरै काम गर्नुपर्ने बताउँछन्। तर त्यसका लागि उल्लेख्य काम हुन नसकेको पुनको बुझाइ छ।

“गतवर्ष वा त्योभन्दा अघिजस्तै डेङ्गी देखिन्छ भन्ने लागेरै रोग नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहका प्रमुखसँग पनि छलफल गरिसकेका छौँ,” कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. दाहाल भन्छन्।

उनले तीनै तहका सरकार र नागरिकको सहकार्यबाट यस्तो रोग नियन्त्रणका लागि कार्ययोजना बनाइएको बताए।

"यो वर्ष डेङ्गी देखिएका करिब ३०० वटा स्थानीय तहमा पत्राचार गरेर लामखुट्टेको वासस्थान नष्ट गर्ने सहितका रोकथामका उपाय अपनाउन भनेका छौँ," उनले भने।

स्थानीय सरकारको पहलमा देशभरका विभिन्न स्थानमा लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने कार्य अघि बढाइएको दाबी सरकारी अधिकारीहरूको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।