दिल्लीमा आगो ला��ेर नवजात शिशुहरूको ज्यान गएको अस्पताल 'अवैध रूपमा सञ्चालित'

दिल्लीस्थित अस्पतालको नवजात शिशुको सघन उपचार कक्षको दृश्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नवजात शिशुहरूलाई सघन उपचार प्रदान गरिने कक्षसम्म आगो फैलिएको थियो

भारतको राजधानी दिल्लीमा आगलागी भएपछि सात नवजात शिशुको मृत्यु भएको अस्पताल अनुमतिबिनै अवैध रूपमा सञ्चालन भएको प्रहरीले जनाएको छ।

शनिवार भएको आगलागीपछि उक्त अस्पतालको स्वामित्व भएका व्यक्ति र त्यति बेला काममा खटिएका चिकित्सक पक्राउ परेका छन्।

उक्त घटनापछि गरिएको अनुसन्धानमा अस्पतालमा आगो नियन्त्रण गर्ने साधन र आपत् आइपर्दा बाहिर निस्किन चाहिने आकस्मिक द्वार पनि नभएको पत्ता लागेको छ।

भारतको गुजरात राज्यस्थित राजकोटमा आइतवार भएको आगलागीको अर्को घटनामा २७ जनाको मृत्यु भएको थियो।

भारतमा आवासीय र व्यावसायिक भवनहरूमा आगलागीका घटना भइरहन्छन्। सुरक्षाका उपायलाई कडाइपूर्वक लागु नगरिँदा आगलागी हुने गरेको छ।

सन् २०१९ मा दिल्लीस्थित एउटा झोला कारखानामा ठूलो आगलागी हुँदा कम्तीमा ४३ कामदारको मृत्यु भएको थियो।

अस्पतालबारे के थाहा छ

शनिवार राति दिल्लीस्थित अस्पतालमा आगो लागेको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार राति दिल्लीस्थित अस्पतालमा आगो लागेको थियो

दिल्लीको विवेक विहार क्षेत्रस्थित उक्त अस्पतालमा भीषण आगलागी भएपछि स्थानीयवास��हरू त्रसित र आक्रोशित छन्।

प्रहरी आयुक्त शाहदारा सुरेन्द्र चौधरीले एएनआई समाचारसंस्थालाई बताएअनुसार उक्त अस्पतालको 'नो अब्जेक्शन सर्टिफिकेट' अर्थात् सञ्चालन गर्न पाउने अनुमतिपत्र मार्च ३१ मा सकिएको थियो।

पन्ध्र मिटरभन्दा अग्ला अस्पताल भवनका लागि उक्त संरचनाले आगलागीसँग सम्बन्धित सुरक्षा मापदण्ड पूरा गरेको छ भनेर प्रमाणित गर्ने प्रमाणपत्र पनि चाहिन्छ।

चौधरीका अनुसार उक्त अस्पताललाई पहिला पाँचवटा मात्र शय्या राख्न अनुमति दिइएकोमा १० वटा राखेको पाइएको छ।

आगलागी हुँदा उक्त अस्पतालमा भर्खर जन्मिएका १२ शिशु थिए। पाँच जीवित शिशुलाई उपचारका लागि अर्को अस्पतालमा राखिएको छ।

कसरी भयो आगलागी

आगलागी भएको अस्पतालबाहिर प्रहरी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

प्रहरीले उक्त अस्पतालका निर्देशक डा नवीन किची र डा आकाश नामक अर्का चिकित्सकलाई पक्राउ गरेको छ। उनीहरूलाई ज्यान मार्ने उद्योग गरेको अभियोग लगाइएको छ।

आगलागी हुँदा अस्पतालमा कार्यरत चिकित्सक सघन उपचार आवश्यक हुने नवजातशिशुको उपचार गर्न योग्य नभएको प्रहरीले जनाएको छ।

दिल्ली सरकारले उक्त घटनाको जाँच गर्न दिल्लीका मजिस्ट्रेटलाई निर्देशन दिएको छ।

सामाजिक सञ्जालमा आगलागी भएको देखिने नाटकीय दृश्यहरू फैलिएका थिए।

दिल्लीको अग्निशमन विभागका निर्देशक अतुल गर्गले सरकारी समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डियालाई बताएअनुसार अक्सिजन सिलिन्डरमा विस्फोटन भएपछि अस्पतालमा आगो फैलिएको थियो।

'हृदयविदारक घटना'

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त स्थानीय बासिन्दाहरूले उक्त अस्पतालमा सन्दिग्ध गतिविधि हुने गरेको बताएपछि प्रहरीले त्यहाँ अवैध रूपमा अक्सिजन भर्ने गिरोह सक्रिय भएको आशङ्कामा पनि अनुसन्धान थालेको छ।

उक्त अस्पतालको माथिल्लो तलामा सिँढीबाट मात्र जान मिल्ने भएकाले अनि आगलागी हुँदा निस्किने छुट्टै निकास नभएकाले उद्धारकार्यमा विलम्ब भएको अधिकारीहरूले बताएका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगलागीको घटनालाई "हृदयविदारक" भनेका छन्।

"घटनाका कारणबारे अनुसन्धान भइरहेको छ। यो लापरवाहीका लागि जिम्मेवार व्यक्तिलाई छोडिँदैन," केजरीवालले भने।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त घटनाप्रति शोक व्यक्त गरेका छन्। उनले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारु र प्रत्येक घाइतेका परिवारलाई ५०,००० भारु राहत दिने घोषणा गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।