झन्डै नग्न पुरुषहरू सहभागी हुने जापानी पर्वमा पहिलो पटक महिला सहभागिता

जापान

तस्बिर स्रोत, REUTERS

  • Author, शाइमा खलिल
  • Role, टोक्यो संवाददाता

व्यापक मन्त्रोच्चारणमाझ झन्डै नग्न पुरुषहरू एकअर्कालाई धकेल्दै र तछाडमछाड गर्दै मन्दिरतर्फ बढ्दै छन्। “वाशोई! वाशोई!” उनीहरू चिच्याउँछन्- जाऊँ, जाऊँ।

मध्य जापानस्थित कोनोमिया मन्दिरमा मनाइँदै आएको हादाका माचुरी अर्थात्‌ नग्न पर्वका बेला देखिने यो दृश्यमा १,२५० वर्षयता खासै परिवर्तन आएको छैन।

तर यो वर्ष परिवर्तन देखिएको छ- त्यो पनि ठूलै परिवर्तन।

पुरुषहरूदेखि केही टाढा देखिएको महिलाहरूको समूह पहिलो पटक त्यसमा सहभागी हुन लागेको छ।

यी महिलाहरू इतिहास कोर्न यहाँ जम्मा भएका छन्। परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहँदै आएका ठाउँमा महिलाले स्थान पाउनु एकदम कठिन कुरा हो।

तर गत वर्ष वर्ल्ड इकोनोमिक फोरमको लैङ्गिक खाडल सूचकाङ्कमा १४६ मध्ये १२५औँ स्थानमा देखिएको जापानमा त्यो त झन् गाह्रो छ।

सरल जवाफ

यस्तो पनि होइन कि महिलाहरूको यो पर्वमा योगदान कहिल्यै भएन।

“यो पर्वमा पर्दापछाडि बसेर महिलाहरूले पुरुषलाई निकै सहयोग गर्दै आएका हुन्,” यो पर्वमा पुस्तौँदेखि सघाउँदै आएको परिवारकी सदस्य आचुको तामाकोशीले भनिन्।

तर महिलाहरू पनि यो पर्वमा प्रत्यक्ष सहभागी हुनुपर्ने विचार पहिला आएको देखिएन।

मन्दिरमा पुगेर खुशी��ा लागि प्रार्थना गर्नुअघि सहभागी पुरुषहरूले आसुरी तत्त्वहरूलाई धपाउँछन्।

नारुहितो चुनोदाका अनुसार महिलाहरूमाथि कहिल्यै प्रतिबन्ध थिएन। बस्‌ त्यसबारे कसैले कहिल्यै प्रश्न गरेनन्।

र जब उनीहरूले सोधे, जवाफ सजिलै रह्यो।

जापान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कतिपयले यो पर्वमा पुरुष मात्रै सहभागी हुनुपर्ने मत राख्दै आएका छन्

“मलाई लाग्छ सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सबैका लागि रमाइलो हुने पर्व हुनुपर्छ। त्यसमा ईश्वर पनि निकै खुशी हुन्छन्,” समाचार संस्था रोएटर्ससँग उनले भने।

तर समाजका सबैजना त्��सप्रति सहज भइरहेका थिएनन्।

“महिला सहभागितालाई लिएर धेरै प्रश्न पनि आएः पुरुषहरूको पर्वमा महिलाहरू के गर्दै छन्? यो त पुरुषहरूको पर्व हो, यो गम्भीर विषय हो,” ५६ वर्षीय हजुरआमा तामाकोशीले भनिन्।

“तर हामी सबैजना आफूले गर्ने कुरामा दृढ थियौँ। हामी इमानदार भएपछि ईश्वरले पनि हामीलाई हेर्छन् भन्ने विश्वास थियो।”

फरक पोसाक

पालो कुरिरहेका महिलाहरू साँच्चिकै इमानदार छन्। उनीहरू के छैनन् भन्दा नाङ्गो छैनन्।

बरु उनीहरूले सेतो कमिज र लामो वैजनी रङको कोट लगाएका थिए।

तर महिलाहरू मन्दिरतर्फ तछाडमछाड गर्दै जाने बृहत् भिडको हिस्सा हुने छैनन् अथवा मन्दिरले चयन गर्ने ‘पुरुष देउता’लाई छुनका निम्ति हामफाल्दै जाने प्रक्रियामा सहभागी हुने छैनन्।

जनविश्वास अनुसार त्यसरी ती पुरुष देउतालाई छोएपछि आसुरी तत्त्व हराएर जान्छ।

त्यो कुरा यो क्षणको महत्त्वलाई असर पार्दैन।

“मलाई लाग्छ अन्ततः समय फेरिएको छ,” युमिको फुजिईले बीबीसीसँग भनिन्। “तर म जिम्मेवारी पनि बोध गर्छु।”

तथापि यी महिलाहरूले आफ्नो सहभागितामार्फत् लैङ्गिक विभेदको पर्खाल मात्रै भत्काइरहेका छैनन्। परम्परालाई उनीहरूले जीवित पनि राखिरहेका छन्।

जापान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सहभागी महिलाहरूले भिन्न पोशाक लगाएका थिए

यसै साता उत्तरी जापानस्थित कोकुसेकी मन्दिरमा अर्को नग्न पर्व मनाइएको थियो जसलाई उनीहरूले अन्तिम भएको बताए।

उक्त पर्वलाई जारी राख्नका निम्ति पर्याप्त सङ्ख्यामा युवाहरू नरहेका ��नीहरूको तर्क छ।

जापान वृद्धवृद्धाको सङ्ख्या तीव्र गतिमा बढिरहेका देशहरूको सूचीमा पर्छ।

प्रत्येक १० जनामध्ये एक जनाभन्दा बढी ८० वर्षका वा सोभन्दा माथिका रहेको गत वर्ष पाइएको थियो।

जबकि त्यहाँ जन्मदर प्रतिमहिला १.३ रहेको छ। गत वर्ष आठ लाख मात्र बच्चा जन्मिएका तथ्याङ्क छ।

अन्ततः महिलाहरूका लागि महत्त्वपूर्ण क्षण आइपुग्यो। कोनोमिया मन्दिरको आँगनमा पुग्दा पुरुष समूहमाथि जस्तै महिलाहरूमाथि पनि चिसो पानी छम्किइयो।

त्यसले उनीहरूलाई थप ऊर्जावान् बनाए जस्तो देखियो।

उनीहरूको पूजा स्वीकारिएपछि परम्परागत रूपमा दुई पटक निहुरिँदै, दुई पटक ताली बजाउँदै र फेरि अन्तिम पटक निहुरिएर उनीहरूले समारोहको अन्त्य गरे।

अविस्मरणीय क्षण

त्यससँगै थुप्रै स्मरणीय क्षणहरू बने। महिलाहरू खुशीमा झुम्मिए, उफ्रिए र रुँदै एकअर्कालाई अँगालोमा बाँधे।

“आरिगातो गोजाइमास! आरिगातो” अर्थात्‌ एकअर्कालाई उनीहरूले धन्यवाद दिए र भिडले ताली बजाएर उनीहरूको प्रशंसा गर्‍यो।

“मेरो गहभरि आँसु आयो,” मिचिको इकाईले भनिन्। “म सहभागी हुन सकुँला भन्ने लागेको थिएन। तर अहिले उपलब्धि महसुस गर्न सक्छु।”

मन्दिरतर्फ जाँदै गर्दा बाटोमा सर्वसाधारणले उनीहरूलाई रोकेर तस्बिर खिचाए। सञ्चारमाध्यमले कुराकानीका लागि रोके। त्यसमा उनीहरू सहयोगी बने।

जापान
तस्बिरको क्याप्शन, आचुको तामाकोशीको परिवारले यो पर्वका लागि धेरै अघिदेखि सहयोग गर्दै आएको छ

“मैले त्यो गरिछाडेँ। म एकदम खुशी छु,” मिनेको आकाहोरीले बीबीसीसँग भनिन्।

“महिला भएर पहिलो पटक सहभागी हुन पाएकोमा म साँच्चिकै कृतज्ञ छु।”

महिला सहभागिताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी आचुको तामाकोशीका लागि त्यो उपलब्धि देखाउने उल्लेख्य दिन बन्यो।

उनी भावुक पनि छिन् र उनले राहत महसुस गरेको अवस्था पनि छ।

“मेरा श्रीमान्‌ यो पर्वमा सधैँ सहभागी हुँदै आउनुभएको हो र म सधैँ दर्शक हुन्थेँ,” बीबीसीसँग उनले भनिन्।

“म अहिले एकदमै आभारी र खुशी छु।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।