महिना नपुगी किन जन्मिन्छन् बच्चा, कसरी जोगाउन सकिन्छ

नवजात शिशु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिना नपुग्दै जन्मिएका बच्चाहरूको बाँच्ने दर उनीहरू कस्तो देशमा छन् भन्नेमा निर्भर रहन्छ

महिना नपुगी जन्मिएका शिशुमा देखा पर्ने विभिन्न जटिलता पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण बन्दै गएको छ।

सन् २०२० को तथ्याङ्कअनुसार कुल एक करोड ३० लाख अर्थात् प्रत्येक १० मध्ये एक बच्चा समय नपुगी जन्मिएका थिए।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ मा विश्वभरिमा पाँच वर्षमुनिका नौ लाख शिशुको मृत्यु 'प्रीटर्म' जन्म अर्थात् महिना नपुगी जन्मिँदा उत्पन्न जटिलताका कारण भएको थियो।

प्रेमचर बेबी के हो?

गर्भ रहेको ३७ साता पूरा नभई जन्मिएका बच्चालाई 'प्रीटर्म बेबी' भनिन्छ।

गर्भमा रहेको समयका आधारमा प्रीटर्म जन्मलाई तीन वर्गमा विभाजन गरिएको छ।

  • अत्यधिक प्रीटर्म (२८ साताभन्दा कम)
  • धेरै प्रीटर्म (२८ देखि ३२ साताबीचको अवधि)
  • सामान्य प्रीटर्म वा महिना पुग्नै लागेको बेला भएको जन्म (३२ देखि ३७ साता)

शिशुहरू जति चाँडो जन्मिन्छन् उनीहरूलाई त्यति नै धेरै जोखिम हुन्छ।

महिना नपुग्दै बच्चा जन्मिन�� समस्या विश्वव्यापी छ।

प्रत्येक वर्ष बच्चाहरू गर्भमा रहनुपर्ने अवधि पूरा नहुँदै जन्मिरहेका छन्।

अवधि नपुग्दै जन्मिएको बच्चा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिना पुग्नुभन्दा धेरै अगाडि र निकै कम तौल भएका बच्चाहरूको स्वास्थ्यमा समस्या आउने र अपाङ्गता हुने जोखिम धेरै हुन्छ

महिना नपुगी बच्चा किन जन्मिन्छ?

यूकेको न्याश्नल हेल्थ सर्भिस एनएचएसका अनुसार गर्भाशयमा बच्चा रहने झिल्ली समयअगावै च्यातिनु र गर्भावस्थामा आउने जटिलता प्रीटर्म जन्मका मुख्य कारण हुन्।

त्यसबाहेक अन्य समस्या यी हुन्ः

  • सङ्क्रमण
  • गर्भवती महिलाको स्वास्थ्यमा विद्यमान प्री-इक्ल्याम्प्सिया (उच्च रक्तचापका कारण धेरै टाउको दुख्ने, दृष्टिमा समस्या हुने र बान्ता हुने जस्ता लक्षण देखिन्छन्) जस्ता रोग
  • पाठेघरको मुखमा हुने कमजोरी
  • एकभन्दा बढी बच्चा जन्मिएका महिलाको गर्भ।

महिना पुग्नुअगाडि हुने जन्मबारे अनुसन्धान गर्ने यूकेको एउटा च्यारिटी ‘टमी’ ले गरेको एक अध्ययनले कतिपय महिलाको योनी र पाठेघरबीचको भाग महिना नपुग्दै खुलेको पाइएको थियो।

उक्त भाग समय नपुगी खुल्दा प्रीटर्म जन्म हुने गर्छ।

महिना नपुग्दै हुने जन्म रोक्नका लागि उपचार उपलब्ध छ।

'सर्भिकल स्टिच' भनिने उपचारविधिमा शल्यक्रिया गरी पाठेघरको मुखतिर टाँका लगाइन्छ। तर यो उपचारविधि महँगो छ।

बच्चा र आमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गर्भ रहेको २४ साता पुगेपछि जन्मिएका बच्चाहरूको बाँच्ने सम्भावना हुन्छ

महिना नपुगी बेथा लागेको कसरी थाहा हुन्छ

टमीमा 'प्रीटर्म बर्थ सर्भेइलन्स क्लिनिक' सञ्चालन गर्ने प्रसूति विषयका प्राध्यापक एन्ड्रू शेनानका अनुसार गर्भवती महिलालाई महिना नपुगी बेथा लागेको छ भने त्यसका प्रारम्भिक सङ्केतहरू देखा पर्छन्। त्यस्ता सङ्केतहरू सामान्य अवस्थाकै जस्ता हुन्छन्।

योनीबाट पानी निस्किन सुरु हुनु एउटा लक्षण हो। गर्भभित्र भ्रूणवरिपरि हुने झिल्ली फुट्दा त्यसरी पानी बाहिर निस्किन्छ।

अरू लक्षण गर्भाशयमा निरन्तर सङ्कुचन हुनु र योनीबाट रक्तस्राव हुनु वा अन्य तरल पदार्थ बहनु पनि हो।

“अधिकांश हेरचाह प्रतिक्रियामा गरिने हेरचाह हो। यदि बेथा लागेका महिला आए भने उनीहरूलाई बच्चाको स्याहार गर्ने सुविधा भएको ठाउँमा पठाउनुपर्छ।”

“बच्चालाई छिटो जन्मिन तयार पार्न उपयोगी हुने केही औषधिहरू छन्। म्याग्नीसिअमले बच्चाको मस्तिष्कको संरक्षणका लागि सहयोग गर्छ। बच्चाको फोक्सोलाई सक्रिय बनाउन र श्वासप्रश्वासको समस्या रोकथामका लागि आमालाई स्टेरोइड दिन सकिन्छ,” प्राध्यापक शेनान भन्छन्।

प्रेमचर बेबी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रेमचर बेबीका लागि अस्पतालमा विशेषज्ञ र विशेष उपकरणसहितको सुविधा आवश्यक हुन्छ

महिना नपुग्दै जन्मिएका बच्चाको बाँच्ने दर कस्तो छ?

महिना नपुग्दै बच्चाको जन्म हुने समस्या जहाँ पनि देखा पर्न सक्छ। तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस्तो समस्या दक्षिण एशिया र सब-सहारा अफ्रिकामा धेरै छ।

महिना नपुग्दै जन्मिएका बच्चाहरूको बाँच्ने दर देशअनुसार फरकफरक छ।

उदाहरणका लागि, कम आय भएका देशमा २८ साताअगावै जन्मिएका ९० प्रतिशत बच्चाहरू जन्मिएको केही दिन मात्रै बाँच्ने गरेको देखिन्छ। तर उच्च आय भएका देशहरूमा यस्तो अवधिमा जन्मिएका बच्चाहरूको मृत्युदर १० प्रतिशतभन्दा कम छ।

अत्यधिक कम समय गर्भमा रहेका शिशु पनि कैयौँमा आजीवन अपाङ्गता भएको देखिन्छ। उनीहरूमा सिक्न नसक्ने, आँखा राम्रोसँग नदेख्ने वा कान कम सुन्ने जस्ता समस्या देखिएका छन्।

गर्भभित्र शरीर राम्ररी विकसित नभएका कारण उनीहरूमा त्यस्ता समस्या उत्पन्न हुन्छन्।

महिना नपुग्दै जन्मिएकाहरूमध्ये पनि अति नै कम तौल अर्थात् एक केजीदेखि १.३ केजीभन्दा कम तौल भएका बच्चाहरूमा स्वास्थ्य जटिलता वा अपाङ्गताको जोखिम हुन्छ।

महिना नपुगी जन्मिएका बच्चाहरूलाई आफ्नो शरीरको छाला छुवाएर बोक्न विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिना नपुगी जन्मिएका बच्चाहरूलाई आफ्नो जीउ छुवाएर बोक्न विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको छ

महिना नपुगी जन्मिएका बच्चालाई कसरी हेरचाह गर्ने?

गर्भ रहेको २४ सातापछि जन्मिएका बच्चाहरू पनि बाँच्ने सम्भावना हुन्छ। तर नवजातशिशुलाई जोगाउन अस्पतालमा विशेष हेरचाहसहितको सुविधाआवश्यक हुन्छ।

उनीहरूलाई जीवित राख्नका लागि चाहिने उपकरणहरू यस प्रकार छन्:

इन्क्युबेटर: यो उपकरण नवजातशिशु कक्षमा सबैभन्दा धेरै प्रयोग हुन्छ। यो उपकरणलाई गर्भाशयजस्तै गरी बनाइएको हुन्छ र यसले महिना नपुगी जन्मिएका बच्चाहरूको विकासका लागि सुरक्षित ठाउँको आवश्यकता पूर्ति गर्छ।

भेन्टिलेटर: यसले आफ्नै प्रयासमा सास फेर्न सक्षम भइनसकेका नवजातशिशुमा अक्सिजन र अन्य चापको स्थिर प्रवाह गर्छ।

मोनिटर: यो अत्यावश्यक सङ्केतहरूको निगरानीका लागि प्रयोग गरिन्छ। यसमा मुटुको धड्कन, रक्तचाप र अक्सिजनको मात्रा जस्ता कुरा हेरिन्छ।

इन्ट्रभीनस ड्रिपः यो रक्तनलीबाट बच्चाहरूलाई तरल पदार्थ वा औषधि दिन प्रयोग गरिन्छ।

फीडिङ ट्यूब: यो बच्चाको पेटमा नाक वा मुखको माध्यमबाट खानेकुरा पुर्‍याउन प्रयोग गरिन्छ।

इन्फ्यूजन पम्प: यो आवश्यक पोषण, तरल पदार्थ वा रगत र औषधि दिन प्रयोग गरिन्छ।

नाभीमा राखिने क्याथटर: यो पनि बच्चालाई आवश्यक औषधि र पोषण दिनका लागि प्रयोग गरिन्छ। यसको एउटा उपकरण रक्तचाप मापन र रगतमा निश्चित प्रकारका ग्यासहरूको मापन गर्न पनि प्रयोग हुन्छ।

जीउ छुने गरी बोक्नु किन महत्त्वपूर्ण

गत वर्ष विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ निर्देशिका जारी गर्दै बच्चाको स्याहारसुसार गर्ने व्यक्तिले बच्चालाई जन्मनेबित्तिकै ��न्क्यूबेटरमा नराखीकनै 'स्किन-टु-स्किन कन्ट्याक्ट' हुने गरी अर्थात् एकअर्काको जीव छुइने गरी बोक्न सुरु गर्नुपर्ने जनाएको थियो।

यो अभ्यासले बाबुआमा र बच्चा दुवैलाई शान्त रहन सहयोग गर्नुका साथै आनन्द महसुस गराउँछ।

यस्तो अभ्यासले बच्चाको मुटुको धड्कनको गति र श्वासप्रश्वास पनि नियन्त्रण गर्दै गर्भाशयबाहिरको संसारमा उनीहरूलाई घुलमिल हुन सहज हुने बताइन्छ।

यसले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र खानेकुरामा रुचि जगाउनुका साथै शरीरको तापक्रम पनि नियन्त्रित गर्छ।

विश्व स्वास्थ्य सङ्गठनले उद्धृत गरेको एक अध्ययनका अनुसार बच्चालाई जन्मनेबित्तिकै आफ्नो जीउमा सीधै टाँसिने गरी बोकेर हेरचार सुरु गर्ने हो भने प्रत्येक वर्ष डेढ लाख शिशुहरूलाई बचाउन सकिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।