शक्तिशाली भूकम्प जाँदा पनि जापानमा किन कम क्षति पुग्छ

सन् २०२४ को पहिलो दिन गएको भूकम्पका कारण मध्यजापानमा धनजनको क्षति पुगेको छ

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, सन् २०२४ को पहिलो दिन गएको भूकम्पका कारण मध्यजापानमा धनजनको क्षति पुगेको छ
  • Author, रुपर्ट विङ्फील्ड-हायेस
  • Role, बीबीसीका टोक्योस्थित पूर्वसंवाददाता

विनाशकारी भूकम्प र सुनामीले जापानको फुकुशिमा परमाणु केन्द्रमा दुर्घटना निम्त्याएको झन्डै १३ वर्ष भयो।

तर अहिले पनि जापानमा उक्त घटनाको सम्झना ताजा छ। सोमवार इशिकावामा गएको भूकम्प र त्यससँगै सुनामीको चेतावनी दिन बजाइएको साइरनले फुकुशिमा दुर्घटनाको प्रसङ्ग फेरि सबैको ध्यानमा आएको हुनुपर्छ।

भूकम्प गएपछि दिइने चेतावनी जापानका लागि अस्वाभाविक होइन।

म पहिलो पटक यहाँ आउँदा आफू बसेको भवन अलिकति हल्लिनेबित्तिकै म ओछ्यानबाट जुरुक्क उठिहाल्थेँ।

तर केही महिनापछि नै म भूकम्पले हल्लाइरहँदा पनि सुतिरहन थालेँ। जापानमा भूकम्प छोटो अवधिमा नै जीवनको अङ्ग बन्छ। केही हदसम्म तपाईँलाई त्यसको बानी ला���्छ।

एउटा क्षतिग्रस्त भवनको भग्नावशेषमा जापारी उद्धारकर्मीहरू

तस्बिर स्रोत, Reuters

सन् २०११ को त्यो त्रासदीपूर्ण क्षण

तर मनमा सधैँ एउटा कुरा खेलिराख्छ। अर्को ठूलो भूकम्प कहिले आउँछ? के हाम्रो भवन बलियो छ?

यो पुस्ताले त्यो त्रासदीपूर्ण समय सन् २०११ को मार्च ११ मा अनुभव गर्‍यो।

दुई मिनेटसम्म पृथ्वी यसरी हल्लियो कि कसैले पनि आफ्नो जीवनकालमा त्यस्तो भोगेको थिएन। त्यसपछि जमिन हल्लिरह्यो।

उक्त भुइँचालो खेपेका जोसुकैले त्यति बेला आफू कहाँ थिए र कति भयभीत थिए भन्ने बताउन सक्छन्। तर अझै खराब कुरा त आउन बाँकी नै थियो।

त्यसको ४० मिनेटभित्रै सुनामीको पहिलो लहर समुद्री तटमा बज्रिएको थियो र जापानको उत्तरपूर्वी तटीय क्षेत्रका सहर र गाउँलाई बगाउन थालेको थियो। सेन्दाई सहरमाथिबाट टेलिभिजनको एउटा हेलिकप्टरले उक्त त्रासदीपूर्ण क्षण देखाएको थियो।

त्यसको भोलिपल्ट अझ डरलाग्दो समाचार आयो। एउटा परमाणुकेन्द्रमा पनि क्षति पुगेको थियो।

सन् २०११ को महाभूकम्पले जापानको ��ूलो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, सन् २०११ को महाभूकम्पले जापानको ठूलो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो

सुनामीको प्रकोपमा परेको फुकुशिमा परमाणु केन्द्रबाट चुहावट हुन थालेको थियो। त्यसैले लाखौँ मानिसलाई घर छाड्न भनिएको थियो। टोक्योले पनि सुरक्षित महसुस गरिरहेको थिएन।

उक्त दिनले धेरै मानिस प्रभावित भए। त्यसपछिका महिनाहरूमा मैले टोक्योमा बस्ने नयाँ ठाउँ खोजेको थिएँ।

त्यस बेला मेरी पत्नीले भौगर्भिक सर्वेक्षणका नक्सा हेरेर सबैभन्दा बलियो चट्टान रहेको ठाउँ र नदीबाट सबैभन्दा उचाइमा रहेको माथिल्लो भूभाग पत्ता लगाएकी थिइन्। उनी भवन कति वर्ष पुरानो हो भन्ने कुरा सोधिरहन्थिन्।

उनी स्पष्ट थिइन्, “हामी सन् १९८१ अघि बनेका कुनै पनि कुरालाई हेर्ने छैनौँ।”

हामी सन् १९८५ मा बनेको एउटा भवनमा सर्‍यौँ। खानेकुरा र पानीको जोहो गर्न थाल्यौँ। स्नानकक्षको सिङ्कमुनि पाँच वर्ष टिक्ने बाकसहरू राख्यौँ।

सन् २०११ को आतङ्क र त्रासदी सोमवार दोहोरिन सक्थ्यो। तर भर्खरै गएको यो भूकम्पले जापानको महत्त्वपूर्ण सफलताको कथालाई उजागर गरेको छ।

जापानमा भूकम्प जमिन कति हल्लिन्छ त्यसको आधारमा नापिन्छ

जापानमा भूकम्पको शक्ति म्याग्निट्यूडमा भनिँदैन।

जमिन कति जमिन हल्लियो त्यसलाई मापन गरेर त्यसको मान बताइन्छ। त्यस्तो मापनको मान एकदेखि सातसम्म हुन्छ।

सोमवार इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अङ्कको मानसम्म पुग्ने गरी हल्लिएको थियो।

जापान

१०० वर्षअघिको भूकम्पमा भएको ठूलो विनाश

उक्त भूकम्पले सडक र पुलहरूमा व्यापक क्षति भएको छ। ठाउँठाउँमा भीषण पहिरोहरू पनि गएका छन्। तर अहिले पनि अधिकांश भवनहरू सग्ला सग्लै छन्।

टोक्यो र कानाजावाजस्ता ठूला सहरमा जीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालिसकेको छ।

मैले नजिकैको काशीवाजाकी सहरमा बस्ने एक साथीसँग कुरा गरेँ।

“त्यो एकदम डरलाग्दो क्षण थियो,” उनले भने। “मैले यहाँ अनुभव गरेको सबैभन्दा ठूलो भूकम्प थियो। हामी तटबाट सुरक्षित स्थानमा जानुपर्‍यो। तर अहिले हामी घर फर्किएका छौँ र सबैकुरा ठिक छ।”

सन् १९२३ मा ट���क्योमा गएको भीषण भूकम्पपछि सुरु भएको इन्जिनियरिङ उपलब्धिको महत्त्वपूर्ण हिस्साका रूपमा यसलाई लिनुपर्ने हुन्छ।

कान्तो महाभूकम्पका कारण सहरको ठूलो भाग भग्नावशेष बनेको थियो। युरोपेली शैलीबाट निर्माण गरिएका आधुनिक इँटाका घरहरू ध्वस्त भएका थिए।

त्यसलगत्तै जापानले पहिलो भूकम्प प्रतिरोधी भवन संहिता तयार गरेको थियो। त्यसपछि नयाँ भवनहरू निर्माण गर्दा स्टील र कङ्क्रिट प्रयोग गरेर बलियो बनाउनुपर्ने व्यवस्था गरियो।

काठका घरहरूमा मोटा निदाल र दलिन प्रयोग गर्न भनियो।

भूकम्पबाट हुने क्षतिबाट जोगिने जापानको प्रयास

प्रत्येक पल्ट देशमा ठूलो भूकम्प गएपछि क्षतिको अध्ययन गरिएको छ र यी नियमहरूलाई अद्यावधिक गरिएको छ।

सबैभन्दा ठूलो परिवर्तन सन् १९८१ मा गरियो। त्यति बेला नयाँ भवन निर्माण गर्दा जगमा नै "साइस्मिक आइसोलेशन" भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गर्न भनियो।

सन् १९९५ मा कोबेमा ठूलो भूकम्प गएपछि सिकिएका कुराहरूलाई उक्त नियममा समेटिएको थियो।

सोमवार भूकम्प गएको जापानमा जनजीवन बिस्तारै सामान्य बन्ने क्रममा छ

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, सोमवार भूकम्प गएको जापानमा जनजीवन बिस्तारै सामान्य बन्ने क्रममा छ

उक्त विधिको सफलता सन् २०११ मा जापानमा गएको म्याग्निट्यूड ९ को शक्तिशाली भूकम्पले प्रस्तुत गरेको थियो।

त्यस बेला कम्पनको तह ५ मापन गरिएको थियो। त्यो जापानको राजधानीले सन् १९२३ को भूकम्पको समयमा महसुस गरेको कम्पनजत्तिकै थियो।

सन् १९२३ मा सहर भग्नावशेष बनेको थियो र १,४०,००० को ज्यान गएको थियो।

सन् २०११ मा अग्ला गगनचुम्बी भवनहरू हल्लिएका थिए। झ्यालहरू भत्किएका थिए तर प्रमुख भवनहरू भत्किएनन्। त्यो बेला भूकम्पले नभई सुनामीले धेरै जनाको ज्यान लिएको थियो।

इशिकावामा पुराना काठेघरहरू भूकम्पका कारण धराशायी भएको तस्बिरहरूमा देखिन्छ। एउटा आधुनिक भवन भत्किएको छ।

तर सञ्चारमाध्यमहरूले तुरुन्तै उक्त भवन सन् १९७१ मा निर्माण भएको जनाएका छन्। केही व्यक्तिहरूको ज्यान गएको छ। धेरै जना घाइते भएका छन्।

तर पृथ्वीको अन्य कुनै देशमा यो स्तरको भूकम्प गएको परिस्थितिमा यति कम क्षति भएको कल्पना पनि गर्न सकिँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।