एक असल पुरुष हुनु भनेको के हो?

महिलाको स्याहार गर्दै पुरुष

तस्बिर स्रोत, GETTY IMAGES

पुरुष कस्तो देखिनुपर्छ, ��नीहरूले के गर्नुपर्छ, के गर्नुहुँदैन? यसबारेमा जबदेखि दुनियाँ सुरु भयो सायद त्यही बेलादेखि एक खास किसिमको सोच बन्दै आएको छ।

संसारको फरक फरक भागमा फरक फरक संस्कृति र धर्मका आधारमा केही फरक पक्कै हुनसक्छ तर पुरुषबारेको धारणा भने एकै खालको छ।

हामी सबैले केही पुस्तादेखि नै आफ्नो घरमा वा वरपरका मानिसबाट वा फिल्मबाट पुरुषको छविबारे केही खास किसिमका कुराहरू सुन्दै आएका छौँ।

जस्तै पुरुषलाई पीडा हुँदैन, केटा मान्छे भएर पनि रुन्छ, केटा भएर पनि पिटाइ खाएर आएछ कस्तो होला, चुरा लगाएर बस्छ, यस्तै यस्तै।

पैसा कमाउनु र घर चलाउनु पुरुषको जिम्मेवारी हो, मेहनत पर्ने सबै काम पुरुषले नै गर्न सक्छन्, घरको कुनै पनि विषयमा अन्तिम निर्णय पुरुषले नै गर्छन् जस्ता विचारधारा हाम्रो सामाजिक सोचको हिस्सा बन्दै आएको छ।

पन्जाब युनिभर्सिटीमा विमिन स्टडिज विभागकी प्राध्यापक डाक्टर अमीर सुल्ताना यसलाई एउटा “सामाजिक संरचना” भन्छिन् अर्थात् यो समाजकै उपज हो।

बीबीसीसँग कुरा गर्दै उनले भनेकी छन्, "पुरुषको बारेमा यस किसिमको सोच समाजले बनाएको हो र प्रकृतिसँग यसको कुनै सम्बन्ध छैन।"

"यसै कारण हामी यो पनि देख्छौँ कि फरक फरक समाजमा पुरुषत्वको फरक फरक परिभाषा हुनसक्छ।

तर अधिकांशमा एक कुरा भने समान छ र त्यो हो- पुरुष शक्तिशाली हुन्छन् र उनीहरूले नै अन्तिम निर्णय लिन्छन्।"

पुरुषत्व

पुरुषलाई लिएर शब्द

सन् २०१८ मा जब #Metoo अभियान दुनियाँभरि सुरु भयो तब पुरुषका बारेमा यस्तो खालको मानसिकताका लागि एक विशेष शब्दको प्रयोग गर्न थालियो।

र, त्यो विशेष शब्द थियो “विषाक्त पुरुषत्व (टक्सिक म्यास्कुलिनिटी)।”

यसलाई तपाईँहरू यसरी बुझ्न सक्नुहुन्छ कि यदि तपाईँलाई लाग्छ कि तपाईँ पुरुष हो भने तपाईँ एक विशेष किसिमको देखिनुपर्छ।

पुरुष शक्तिशाली हुन्छ र महिला कमजोर, तपाईँले यो कुरा स्विकार्ने मात्रै होइन यसलाई आफ्नो व्यवहारमा पनि देखाउनु पर्छ भन्ने सोच्नुहुन्छ।

यदि तपाईँको यस्तो सोच छ भने खास तपाईँ पुरुषत्व भएको होइन कि तपाईँ ‘टक्सिक म्यास्कुलिनिटी’ अर्थात् ‘विषाक्त पुरुषत्व’ भएको मानिस हो।

त्यसो भए एउटा फरक प्रश्न उठ्छ- "यदि पुरुषलाई लिएर सदियौँदेखि चल्दै आएको सोच पुरुषत्व होइन र त्यो विषाक्त पुरुषत्व हो भने सही अर्थमा पुरुषत्व हुनु भनेको के हो?

यही प्रश्नको उत्तर खोज्ने कोसिसमा एउटा नयाँ शब्दको प्रयोग बढ्न थालेको छ र त्यो हो हेल्दी वा पोजिटिव म्यासक्युलिनिटी अर्थात् सकारात्मक पुरुषत्व।

गैरी बारकर

इक्वीमुन्डो सेन्टर फर म्यासक्युलिनिटिज एन्ड सोसल जस्टिस नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक गैरी बारकर ‘मेनकेयर’ र ‘मेनइङ्गेज’ नामक संस्थाका पनि सह-संस्थापक हुन्।

मेनकेयर ५० भन्दा बढी देशमा चलिरहेको एक विश्वव्यापी संस्था हो जसको मुख्य उद्देश्य हेरचाह गर्ने जिम्मेवारीमा पुरुषलाई प्रोत्साहित गर्नु हो।

मेनइङ्गेज दुनियाँभरिका सात सयभन्दा बढी गैरसरकारी संस्थाहरूको एउटा विश्वव्यापी गठबन्धन हो।

गैरी बारकर इन्टरन्याश्नल मेन एन्ड जेन्डर इक्वालिटी सर्वेका सह-संस्थापक हुन्।

पुरुषको व्यवहार, बुवाको जिम्मेवारी, हिंसा र लैङ्गिक समानता जस्ता विषयमाथिका सोचलाई लिएर गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सर्वेक्षण हो।

गैरी बारकरले बीबीसीको रिल्समा यसबारे आफ्नो विचार शेअर गरेका छन्।

पुरुषत्व

असल पुरुष हुनु भनेको के हो?

बीबीसी रील्ससँग कुराकानी गर्दै उनले असल पुरुष हुनु भनेको के हो भन्ने विषयमा स्वयं पुरुषहरू नै दुबिधामा रहेको बताए।

बारकरले आफ्नो सर्वेक्षणमा जब पुरुषले परिवारमा एक अर्काको ख्याल राख्छन् तब पूरै परिवारलाई फा��दा हुने गरेको पाए।

उनका अनुसार सकारात्मक पुरुषत्व महिला-विरोधी विषाक्त सोचलाई हटाउने एउटा औषधि हो।

उनले कुनै पनि महिलामाथि भएको यौन शोषण वा महिला विरोधी ख्यालठट्टा कतै सुन्ने बित्तिकै तुरुन्तै त्यस विरुद्ध आवाज उठाउनुपर्छ भन्ने कुरा बोध गराउनु नै पुरुषलाई यसबारे थाहा दिने सजिलो तरिका भएको बताए।

जब कुनै पुरुषले आफ्नो कार्यालय वा साथीभाइ वा आफन्तमाझ कोही अन्य पुरुषले यौन हिंसा गरेको कुरा थाहा पाए भने त्यसविरुद्ध आफ्नो आवाज बलियो बनाउनुपर्ने बताए।

पञ्जाब विश्वविद्यालयकी विमिन स्टडिज विभागकी अमीर सुल्ताना पनि महिला र किशोरीमाथि समाजमा केही गलत भइरहेको छ भने पुरुषले त्यस विरुद्ध आवाज उठाउनुपर्ने ठान्छिन्। उनका अनुसार यही नै पोजिटिभ म्यास्क्युलिनिटी हो।

यसको उदाहरण दिँदै उनी भन्छन्, “यदि तपाईँ पुरुष भएको हिसाबले घरमा निर्णय लिने अधिकार तपाईँसँग छ भने तपाईँले विवाहमा दाइजो लिन्न भन्न सक्नु भयो भने त्यो नै सकारात्मक पुरुषत्व हुनु हो।”

विषाक्त पुरुषत्व

पुरुषत्व

बारकरका अनुसार महिला सशक्तीकरण र महिला पुरुषबीच पूर्ण लैङ्गिक समानताका लागि पुरुषको एउटा महत्त्वपूर्ण भूमिका हुन्छ।

भारतमा समलैङ्गिक मानिसहरूको अधिकारका लागि वर्षौँदेखि लड्दै आएका मुम्बईका हरीश अय्यरका अनुसार असल पुरुषत्वको अर्थ एउटा यस्तो सोच हो जसमा सबै लिङ्गका मानिसहरूलाई समान स्थान दिइन्छ, उनीहरूलाई स्वागत गरिन्छ र सबैलाई बराबर अवसर दिइन्छ।

बीबीसी हिन्दीका लागि फ़ातिमा फ़रहीनसँग कुरा गर्दै हरीश अय्यरले असल पुरुषत्वको विचारधाराको जगमा नारीवाद रहेको बताए।

नारीवादको धारणा के हो भने समाज पुरुष-दृष्टिकोणलाई प्राथमिकता दिन्छ र पितृसत्तात्मक समाजमा महिलामाथि भेदभाव र अन्याय हुन्छ।

हरीश अय्यरका अनुसार असल पुरुषत्व यस्तो सोच हो जसमा एउटा फरक के छ भने यहाँ केवल महिलालाई मात्रै नभएर सबै लिङ्गका मानिसले समान अवसर पाउनुपर्छ।

आजभोलि असल पुरुषत्वबारे किन धेरै कुरा भइरहेको छ भन्ने प्रश्नमा जबाफ दिँदै हरीश अय्यर भन्छन्, "यदि समाजमा विषाक्त पुरुषत्वको कुरा भइरहेको छ भने त्यसको विरोधमा यस्तो खालको प्रगतिशील सोचको पनि कुरा हुनु स्वभाविक हो।"

हरीश अय्यर अर्को एउटा महत्त्वपूर्ण कुरा पनि भन्छन्- विषाक्त पुरुषत्व भएकाहरू केवल पुरुष ��ात्रै हुँदैनन् केही महिला पनि हुन्छन् जो विषाक्त पुरुषत्वलाई बढवा दिन्छन्।

चुराको सङ्केत

पुरुषत्व

अमीर सुलताना पनि यही कुरामा सहमत छिन्। उनी भन्छिन्, “महिला पनि यही समाजका हिस्सा हुन् जहाँ हामी पुरुषत्वलाई बढी महत्त्व दिन्छौँ। महिला आफैँ पनि कति पटक राजनीतिक विरोधमा उत्रिन्छन् र कुनै अधिकारी वा कुनै राजनेता कहाँ गएर आफ्नो चुरा दिन्छन्। चुरालाई विरोधको सङ्केत बनाइदिन्छन्।”

गैरी बारकरका अनुसार पछिल्ला वर्षहरूमा पुरुषको सोचमा पनि परिवर्तन आउन थालेको देखिएको छ।

उनका अनुसार यो कुरा पुरुषलाई पनि महसुस गराउनुपर्छ कि यस्तो सोचले पुरुषलाई नै पनि गाह्रो पारिरहेको छ। 

यदि संसार लैङ्गिक समानतातर्फ अगाडि बढ्छ भने यसले पुरुषलाई पनि फाइदा पुर्‍याउँछ।

लैङ्गिक समानताको यो लडाइमा यदि पुरुष महिलाको साथी बन्न सके भने यो पूरै प्रक्रियामा ती पुरुष पनि एक राम्रो मानिस बन्छन्।

क्वेअर फेमिनिस्ट समूहका वरिष्ठ कार्यक्रम संयोजक जयान भन्छन्- "स्वस्थ्व पुरुषत्व भएका पुरुष ती हुन् जसले समाजले बनाएको नियम र दृष्टिकोणलाई चुनौती दिन्छन्।"

बीबीसीका लागि फातिमा फरहीनसँग कुरा गर्दै उनले भने, "जब-जब समाजमा घरेलु हिंसा बढ्न थाल्छ र त्यसबारे चर्चा हुन थाल्छ तब मानिसहरूलाई लाग्यो कि यो विषयमा सबैभन्दा जरुरी भनेको पुरुषत्वको बारेमा पुरुषहरूसँग सिधै कुरा गर्नुपर्छ।"

उनका अनुसार यस क्रममा पुरुषलाई पुरुषत्वबारेको जुन छवि बन्दै आएको छ त्यो सही होइन भनेर बताइयो।

महिला पुरुष

सोच बदल्न आवश्यक

जयान भन्छन् कि यो समयमा जसरी राष्ट्रियताको बारेमा कुरा हुँदैछ त्यसमा पनि कतै न कतै परम्परागत पुरुषत्वले नै काम गरिरहेको छ।

उनी भन्छन्, “भारतमा स्वस्थ (हेल्दी) पुरुषत्वका बारे मानिसहरू कुरा त गर्न थालेका छन् तर त्यसलाई अझै फैलाउन आवश्यक छ। संस्थाहरूले हामीले हाम्रा छोराहरूलाई कसरी हुर्काउने र संस्कार दिने भन्नेबारे बताइरहेका छन्।”

यस्तो बेला अभिभावकहरूले कस्तो भूमिका खेल्न सक्छन्?

यसबारे अमीर सुलताना भन्छिन्, “यस्तो खालको सोच त्यही बेला परिवर्तन हुनसक्छ जब हामी बालबालिकाहरूलाई सानैदेखि छोरा र छोरी दुवै बराबर हुन् भनेर सिकाउन सक्छौँ। एक पुरुष असल पुरुष त्यही बेला हुनसक्छ जब उ पहिला असल मानिस बन्न सक्छ।”

सुलताना अब त केवल महिला र पुरुषको मात्रै नभई एलजीबीटीआईक्यूको बारेमा पनि कुरा हुन थालेको बताउँछिन्।

उनका अनुसार पूरै समाज परिवर्तन गर्न सके नै समाजले प्रगति गर्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रक���शित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।