'मातेका' यात्रुले कर्मचारीलाई टोकिदिएपछि अमेरिका उडेको विमान जापान फिर्ता

अल निप्पोनको विमान

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, फाइल तस्बिर अल निप्पोनको विमान

जापानबाट संयुक्त राज्य अमेरिकाका लागि उडेको एउटा जापानी विमानमा मदिरा पिएर मातेका एक यात्रुले चालकदलकी एक सदस्यलाई टोकिदिएपछि उक्त विमान टोक्यो फर्किएको छ।

ती ५५ वर्षे अमेरिकी यात्रुले मदिरा पिएर "निकै मातेको" अवस्थामा एक महिला अटेन्डन्टको पाखुरामा टोकिदिएको एएनए विमानसेवाका प्रवक्ताले समाचारसंस्था एएफपीलाई बताए। विमानकी ती कर्मचारीको पाखुरामा चोट लागेको छ।

जापानी सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले प्रहरीलाई आफूले निद्रा लाग्ने औषधि खाएको र के भयो भन्नेबारे आफूलाई सम्झना नभएको बयान दिएका छन्।

यो महिना यसअघि पनि जापानी विमानमा केही अप्रिय घटनाहरू भएका थिए।

अहिलेको घटना हुँदा १५९ यात्रुसहित उडिरहेको विमान प्रशान्त महासागरमाथि थियो।

चालकदलका सदस्यमाथि शारीरिक आक्रमण भएपछि विमानचालकले विमान टोक्योस्थित हानेदा विमानस्थलतिर फर्काएका थिए।

एएनए विमानसेवाका अनुसार कर्मचारीलाई टोक्ने यात्रुलाई टोक्योस्थित विमानस्थलमा प्रहरीको जिम्मा लगाइएको थियो।

जापानी विमानमा भएका घटनाहरूको शृङ्खला

केही दिनअघि एनएनएको अर्को उडान पनि प्रभावित भएको थियो भने केही साताको अवधिमा जापानी विमानमा अस्वाभाविक घटना भएको पाँचौँ पटक हो।

गत शनिवार आन्तरिक उडानमा रहेको एनएनएको एउटा विमानको ककपिटको झ्याल चर्किएको पत्ता लागेपछि आकाशबाटै फर्काइएको थियो।

उक्त विमानमा विमानचालक बस्ने भागमा भएको झ्यालका सिसाका चार पत्रमध्ये बाह्य पत्र चर्किएको भए पनि सबै जना सकुशल थिए।

"सिसा चर्किएको भए पनि त्यसबाट विमान नियन्त्रण [प्रणाली] वा चाप कायम राख्ने काममा कुनै प्रभाव परेको थिएन," एनएनएका प्रवक्ताले बताए।

त्यसअघि ज्यानुअरी २ मा हानेदा विमानस्थलमा एउटा डरलाग्दो दुर्घटना भएको थियो।

जापान एअरलाइन्सको विमानमा भएको आगलागी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको जेटसँग ठोक्किएपछि जापान तटरक्षक निकायको सानो विमानमा सवार पाँच जनाको मृत्यु भएको थियो

तीन सय ७९ जना सवार जापान एअरलाइन्सको विमान जापानी तटरक्षक निकायको एउटा सानो विमानसँग ठोक्किएको थियो।

उक्त दुर्घटनामा यात्रुवाहक विमानमा ठूलो आगलागी भएको थियो भने सानो विमानमा सवार छ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो। यात्रुवाहक विमानका सबै जनालाई सकुशल उद्धार गरिएको थियो।

जापानी तटरक्षक निकायको उक्त विमान ‍मध्यजापानमा भूकम्प गएपछि राहत सामग्री आपूर्ति गर्न प्रयोग गरिएको थियो।

अनि उत्तरी जापानको होक्काइदो टापुमा मङ्गलवार कोरियन एअर र क्याथे प्यासिफिकका विमानहरूका पखेटा भाँचिएका थिए।

हिउँदे मौसमका कारण भएको ठानिएको उक्त दुर्घटनामा कोही पनि घाइते भने भएका थिएनन्।

संयुक्त राज्य अमेरिकाको शिकागो विमानस्थलमा आइतवार एएनएको एउटा विमानको पखेटा डेल्टा एअरलाइन्सको अर्को विमानको पखेटासँग ठोकिएको एनएनएका प्रवक्ताले एएफपीलाई बताए।

उक्त घटनामा कोही पनि घाइते भएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।