जनताले कुनै बेला देवता मानेका जापानी स��्राट् पनि अब इन्स्टाग्राममा

जापानी राजदम्पती

तस्बिर स्रोत, KUNAICHO_JP/INSTAGRAM

तस्बिरको क्याप्शन, जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाको इन्स्टाग्रामा पनि छन्
  • Author, फ्रान्सिस माओ
  • Role, बीबीसी न्यूज

सन् १९२६ मा जापानका सम्राट् हिरोहितो राजगद्दी आरोहण गर्दा दशौँ लाख जापानी जनताले उनलाई जीवित देवताको रूपमा सम्मान प्रकट गरेका थिए।

झन्डै १०० वर्षपछि संसारकै सबैभन्दा पुरानो वंशपरम्परामा आधारित राजसंस्था अर्थात् जापानको राजपरिवार निकै भिन्न स्वरूपमा देखा परेको छ।

अहिले हिरोहितोका नाति नारुहितो जापानका सम्राट् छन्। पाँच वर्षअघि राजगद्दीमा बस्दा उनले राजपरिवारलाई आधुनिक युगमा ल्याउने वाचा गरेका थिए।

अनि जापानी राजपरिवारले २१औँ शताब्दीमा एउटा ठोस कदम चालेको छ: सोमवारदेखि जापानको राजपरिवार इन्स्टाग्राममा आएको छ।

ब्रिटिश राजपरिवार झन्डै १५ वर्षअघि सामाजिक सञ्जालमा आएको थियो।

सोशल मिडिया विश्लेषक एन्ड्रू ह्यूज भन्छन्, "डिजिटल युगमा संलग्न नहुने महत्त्वपूर्ण राजपरिवारका सदस्यमध्ये सम्भवतः जापानी राजपरिवारका सदस्य अन्तिम थिए।"

तर त्यो अवश्यम्भावी थियो। नयाँ पुस्तासँग अन्तरक्रिया गर्ने र आफ्नो सान्दर्भिकता कायम राख्ने जापानी राजपरिवारले इच्छा थियो। नयाँ पुस्ताका मानिसले फोनबाट मात्र सूचना पाउने प्रवृत्ति बढेपछि अनलाइन माध्यममा उसको उपस्थिति हुनु नै पर्ने भयो।

तर राजपरिवारको दैनिक जीवनको वास्तविक झलक हेर्न पाउने आश राख्नेहरूका लागि विगत तीन दिनमा @kunaicho_jp ले खासै नौलो कुरा दिएको छैन।

बोन्साई र निहुरेर अभिवादन

कैयौँ वर्षदेखि इन्स्टाग्राम चलाइरहेको ब्रिटिश शाही परिवारले भने जापानी शाही परिवारको भन्दा भिन्न शैलीका तस्बिर पोस्ट गर्छ

तस्बिर स्रोत, Instagram

तस्बिरको क्याप्शन, कैयौँ वर्षदेखि इन्स्टाग्राम चलाइरहेको ब्रिटिश राजपरिवारले भने जापानी राजपरिवारको भन्दा भिन्न शैलीका तस्बिर पोस्ट गर्छ

एक प्रशंसकले अनलाइनमा लेखेका छन्: "[उनीहरूले] इन्स्टाग्राम खोलेको थाहा पाउनासाथ मैले त्यो हेरेँ। तर पक्कै पनि सम्राट्ले 'आज बिहानको खाना' (मुटुको इमोजी) वा त्यस्तै केही पोस्ट गर्ने छैनन्।"

अहिलेसम्म राजपरिवारको खाता @kunaicho_jp खातामा अप्लोड गरिएका केही दर्जन तस्बिर र पाँचवटा भिडिओमध्ये अधिकांशमा सम्राट नारुहितो, साम्राज्ञी मासाको र उनीहरूकी २२ वर्षीया छोरी राजकुमारी आइको देखिन्छन्। आइको जापानमा निकै लोकप्रिय छिन्।

तर यो व्यक्तिगत अभिव्यक्ति वा झल्को वा राजपरिवारका अनौपचारिक गतिविधिका तस्बिरहरू पोस्ट गरिने पेज हैन।

जापानी राजदम्पती र ब्रुनाईका राजकुमार र उनकी पत्नीसँगको भेटमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जापानी राजदम्पती र ब्रुनाईका राजकुमार र उनकी पत्नीसँगको भेटमा

अहिलेसम्म यो खातामा औपचारिक तस्बिरहरू मात्र छन्।

ती तस्बिरमा केही महिनायता सम्राट् र साम्राज्ञी सहभागी भएका कार्यक्रम र गतिविधि देखिन्छ।

सङ्ग्रहालयको भ्रमण, भूकम्पग्रस्त क्षेत्र र बैठककक्षमा अरू देशका राजपरिवारका सदस्यसँग भेटघाट गर्दाका तस्बिरहरू यो खातामा छन्।

त्यहाँ केही बोन्साई र धेरै नि��ुरिएर अभिवादन गरेका तस्बिरहरू पनि छन्।

जन्मदिन मनाइएको एउटा पोस्टमा सम्राट् र साम्राज्ञी एउटा होचो टेबलपछाडि बसेको देखिन्छ।

इन्स्टाग्राम इन्फ्लूएन्सरहरू नयाँ फलोअरलाई आकर्षित गर्न अनेक उपाय गर्छन्।

"यो खाताका पोस्ट निकै उराठलाग्दा छन्, प्रेस विज्ञप्तिमा वितरण गरिने जस्तै तस्बिरहरू छन्," कान्डा यूनिभर्सिटीमा जापनिज स्टडीज प्राध्यापन गर्ने जेफ्री हलले भने।

क्याप्शन जापानी भाषामा मात्र लेखिएका छन्। अहिलेसम्म तिनमा तस्बिरमा देखिने कार्यक्रमको विवरण मात्र छ।

अहिलेसम्म सम्राट्ले आफैँ अनुमोदन गरेको पोस्ट वा उनका व्यक्तिगत टिप्पणी आशा गरिनहालौँ।

इन्स्टाग्राम प्रयोगकर्ताहरूले सामान्यतया आफ्ना जीवनका विविध पक्षको झल्को देखाउन प्रयोग गर्ने 'स्टोरिज' मा अहिलेसम्म राजपरिवारका कर्मचारीहरूले कार्यक्रमका तस्बिरहरूको बी-रोल देखाउन गर्न मात्र प्रयोग गरेको पाइन्छ।

हल भन्छन्, "आईएचए (जापानी राजपरिवार हेर्ने निकाय)ले आफ्ना फलोअरहरूसँग अन्तरक्रिया गर्ने वा मनोरञ्जन दिन कुनै उद्देश्य राखे जस्तो मलाई लाग्दैन।"

कडा नियन्त्रण

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो खातामा प्रतिक्रिया लेख्न पाइने सुविधालाई निष्क्रिय पारिएको छ।

सामाजिक सञ्जालसम्बन्धी विश्लेषकहरूका अनुसार व्यावसायिक घरानाहरूमा यस्तो अभ्यास निकै प्रचलित छ।

“यसले ब्र्यान्डलाई क्षति पुर्‍याउने कमेन्टहरू रोक्छ र कमेन्टका कारण सामग्रीहरू ओझेलमा पर्ने अवस्थाबाट पनि मुक्ति दिन्छ,” अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीमा विज्ञापन र बजारीकरण पढाउने ह्यूज बताउँछन्।

“फेर्न सकिने भए पनि मलाई उनीहरूले समस्या निम्तिने अवस्थाका लागि बाटो खोल्छन् जस्तो लाग्दैन। उनीहरूले विदेशमा राजपरिवारमा भएका उदाहरणहरू देखिसकेका छन्।”

राजकुमारी आइको, सम्राट् नारुहितो र साम्राज्ञी मासाको

तस्बिर स्रोत, KUNAICHO_JP/INSTAGRAM

तस्बिरको क्याप्शन, राजकुमारी आइको पनि देखिने यस्ता पोस्टमा धेरैले लाइक गरेका छन्

जापानका राजपरिवारले ब्रिटिश राजपरिवारको भन्दा १५ वर्ष ढिलै भए पदार्पण गरेको छ। जापानी राजपरिवारका सदस्यहरू पक्कै पनि हालै वेल्सका राजकुमार र उनको परिवारको सम्पादित तस्बिरका कारण उत्पन्न विवादबारे सतर्क बनेका होलान्।

एक हजार वर्ष लामो इतिहास भएको राजपरिवार सामाजिक सञ्जालका कारण आफ्नो छवि धुमिल बनाउन अवश्य चाहँदैन।

“जापानको राजपरिवार आफ्नो परम्पराग�� र सुरक्षित छवि जोगाउन चाहन्छ,” ह्यूज बताउँछन्।

“त्यहाँ (राजकुमार ह्यारीको आत्मवृत्तान्तको जस्तो) सामग्री र फोटोशप गरिएका सामग्री हुने छैन।"

उनी जापानीहरूले आफ्नो देशको राजपरिवारका सदस्यसँग बढी आदरपूर्ण र सम्मानपूर्ण सम्बन्ध राख्दै आएको औँल्याउँछन्।

“उनीहरूले सुरुसुरुमा निरन्तर सामग्रीहरू दिइरहनु पनि पर्दैन। ब्र्यान्डलाई सूक्ष्म ढङ्गले सुदृढ गर्दै जाने अनि एआईको सकेसम्म कम प्रयोग गर्ने, सार्वजनिक भएका र चर्चामा आएका विषयमा भ्रामक सूचनालाई नियन्त्रण गर्ने। मलाई यो ब्र्यान्डको कुशल व्यवस्थापन हो जस्तो लाग्छ,” ह्यूज भन्छन्।

विगतमा ट्याब्लोइड पत्रिकाहरूमा विभिन्न काण्डहरू आएका थिए। तर राजदरबारले राजपरिवारका सदस्यलाई दाग लाग्न नदिन कडा परिश्रम गरेको थियो। अहिलेसम्म जापानमा राजपरिवारका सदस्यलाई आदर्शपात्र मानिन्छ।

राजकुमारी आइको

राजकुमारी आइकोलाई जापानमा निकै रुचाइन्छ। झन्डै ८० प्रतिशत जापानीहरू उनलाई राजगद्दीकी उत्तराधिकारी बनाउन नियम नै परिवर्तन होस् भन्ने चाहन्छन्। उनले इन्स्टाग्राम सुरु भएपछि आफ्नो रेडक्रसको जागिरबारे पोस्ट गरेकी थिइन्।

जापानी राजपरिवारले आफ्ना सन्देशहरू सबैतिर पुर्‍याउन परम्परागत सञ्चारमाध्यमहरू, फोटोग्राफी, समाचारपत्रहरू, टेलिभिजन कार्यक्रमहरू र साप्ताहिक म्यागजीन प्रयोग गर्दै आएको छ।

"यस्ता माध्यमहरू उनीहरूको सकारात्मक पक्षबारे चर्चा गर्न प्रयोग भए पनि सर्वसाधारणसँग उनीहरूलाई नजिकबाट चिनाउने खालका थिएनन्,” अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीमा जापनिज स्टडीज पढाउने मासाफुमी मादान भन्छन्।

इन्स्टाग्रामबाट पनि राजपरिवारले त्यही रणनीतिलाई निरन्तरता दिन खोजेको देखिन्छ।

सामाजिक सञ्जालले निकट हुने अवसर दिन्छ। यद्यपि जापानी राजपरिवारका सदस्यहरू एक हात पर बस्न नै रमाउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। ��ाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।