सनस्क्रीन: के तपाईँ सही तरिकाले प्रयोग गरिरहनु भएको छ?

सनस्क्रीन

तस्बिर स्रोत, Getty Images

  • Author, जेसिका ब्रेडली
  • Role, बीबीसी न्यूज

सूर्यका किरणमा क्यान्सर गराउन सक्ने तत्त्व हुन्छ – त्यस्तो नहोस् भनेर जोगाउन विज्ञहरूले विभिन्न सुझाव दिएका छन्। त्यसमध्ये एक हो सनस्क्रीन लगाउने।

हाम्रो स्वास्थ्यका लागि हामीले गर्न सक्ने एउटा राम्रो कुराका रूपमा सनस्क्रीन लगाउनुलाई लिइन्छ।

छाला घाममा धेरैबेर देखियो भने त्यसको कारणबाट मेलानोमा भनिने छालाको क्यान्सर हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने वैज्ञानिकहरू बताउँछन्।

र, त्यो प्रतिशत बर्सेनि बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ।

छालाको क्यान्सर हुने नयाँ बिरामीको सङ्ख्या बर्सेनि १५ लाखले बढेको अनुमान गरिएको छ र सन् २०४० सम्ममा त्यो सङ्ख्या ५० प्रतिशतले बढ्ने ठानिएको छ।

घामको किरणबाट हुने यी खतराहरूबारे जनस्वास्थ्यसम्बन्धी निकायले बारम्बार चेतावनी दिने गरेका छन्।

तर सनस्क्रीन कसरी लगाउने र कुन बेला लगाउने भन्नेबारे धेरै दुबिधा देखिने गरेको छ।

घामबाट हाम्रो छाला किन जोगाउनुपर्छ?

जब हामी घाममा लामो समय रहन्छौँ, परावै���नी (यूभी) विकिरणले हाम्रो छालाभित्रका कोषिकामा हुने डीएनए, प्रोटीन र अन्य मलिक्यूलहरूमा क्षति पुर्‍याउने क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक रिचर्ड ग्यालोले बताए।

मध्यम मात्रामा सूर्यको किरण छालामा पर्दा भने त्यसले छालाका कोषिकालाई भिटामिन डी उत्पादन गर्न मद्दत गर्छ। तर सूर्यको किरणमा छाला धेरैबेर 'एक्सपोज भयो' भने शरीरले मेलानिन उत्पादन गरेर छाला कालो बनाएर जोगाउन खोज्ने ग्यालो बताउँछन्।

"सूर्यमा धेरैबेर बस्दा छालाले जोगाउन सक्दैन र डढ्छ," उनले भने।

यसले हाम्रो कोषिकामा भएको डीएनएमा नोक्सान पुर्‍याउँछ र त्यसले समय अगावै बुढ्यौलीका सङ्केत देखिने र छालाको क्यान्सर हुने खतरा बढ्ने ग्यालोले बताए।

"कम एसपीएफ भएको सनस्क्रीनले सूर्यको किरणको असरबाट कम मात्रै जोगाउँछ," ग्यालो भन्छन्।

सनस्क्रीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सनस्क्रीनले छालामा असर पुर्‍याउनबाट जोगाए पनि आफ्नो छाला ढाक्न र छायाँमा बस्न आवश्यक हुन्छ

एसपीएफ के हो, कति आवश्यक पर्छ?

एसपीएफ भन्नाले "सन प्रोटेक्सन फ्याक्टर" अर्थात् घामबाट जोगाउने तत्त्व हो, सनस्क्रीनको बट्टामा उल्लेख गरिएको नम्बरले सूर्यबाट आउने यूभीको विकिरणबाट कति जोगाउँछ भन्ने सङ्केत गर्छ।

एसपीएफ जति धेरै भयो छाला घामको विकिरणबाट त्यति नै धेरै जोगिन्छ।

हामी दिनभरिमा यूभीको कति विकिरणमा देखा पर्छौँ भन्ने कुरा परिवर्��न हुन्छ, घाम जति चर्किन्छ त्यति नै धेरै सौर्य ऊर्जामा हामी देखा पर्छौँ।

बिहान १० बजेदेखि ४ बजेसम्म घामको किरण सबैभन्दा कडा बनेको हुन्छ।

सनस्क्रीन लगाउने उत्तम उपाय के हो?

सन् २०१८ मा गरिएको एउटा अध्ययनले सनस्क्रीन लगाए लगत्तै यूभी विकिरणबाट नोक्सानी हुन जोगाउने तर त्यो स्थिर हुन भने करिब १० मिनेट लाग्ने देखाएको छ।

यद्यपि, घाममा निस्किनुभन्दा २० देखि ३० मिनेट अगाडि नै सनस्क्रीन लगाउन विज्ञहरू सुझाउँछन् ताकि त्यो छालाले सोस्ने समय पाओस्। धेरै मानिसले कम सनस्क्रीन लगाउने भएका कारण दुई पटक लगाउनु बुद्धिमानी हुने केही अध्ययनले देखाएका छन्।

वैज्ञानिकहरूले पसिना आएपछि, पानीले पखालिएपछि वा कपडाले पुछिएपछि सनस्क्रीन पुनः लगाउन सुझाएका छन्।

सनस्क्रीनसँग मोइस्चराइजरजस्ता अन्य छालामा प्रयोग गरिने सामग्री मिसाएर नलगाउन पनि उत्तिकै महत्त्वपूर्ण हुने लिड्स विश्वविद्यालयका प्राध्यापक रिचर्ड ब्ल्याकबर्नले बताएका छन्।

सनस्क्रीनमा जिङ्क अक्साइडजस्ता तत्त्वहरू हुने हुँदा अन्य क्रिममा हुने सामग्री मिसिँदा त्यो कम प्रभावकारी हुन सक्छ।

तर त्यसको अर्थ सनस्क्रीन प्रयोग गर्न हुँदैन भन्ने नभएको ब्ल्याकबर्नले बताए।

"एप्रिलदेखि सेप्टेम्बरसम्म दैनिक सनस्क्रीन प्रयोग गर्नु भन्ने महत्त्वपूर्ण सन्देश हो," उनले भने।

सनस्क्रीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राम्रा सनस्क्रीनहरूमा यूभीए र यूभीबीजस्ता विकिरणबाट जोगाउनसक्ने ब्रोड-स्पेक्ट्रम प्रोटेक्सन उल्लेख गरिएको हुन्छ

सनस्क्रीनको पनि म्याद सकिन्छ?

समयसँगै सनस्क्रीन कम प्रभावकारी हुँदै जाने विज्ञहरू बताउँछन्। तर खरिद गरेको मितिबाट सामान्यतया तीन वर्षसम्म यसले काम गर्नुपर्ने उनीहरू बताउँछन्।

धेरैजसोमा समयसीमा उल्लेख हुन्छ। तर नभएको अवस्थामा क्रिमको रङ्ग र त्यो कतिको पातलो वा बाक्लो थियो त्यसमा परिवर्तन भएको छ छैन जाँच गर्न सिफारिस गरिएको छ।

सनस्क्रीनको बट्टालाई तातो वातावरण वा प्रत्यक्ष घामको किरणबाट टाढा राख्नुपर्छ।

सनस्क्रीनले भिटामिन डीको उत्पादनलाई बाधा पुर्‍याउँछ?

भिटामिन डीले हड्डी बलियो बनाउन मद्दत गर्ने क्याल्सियम सोस्न र रोग प्रतिरोधी क्षमता विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ।

सनस्क्रीन लगाउँदा त्यसले भिटामिन डी शरीरले लिन पनि रोक्नेबारे चिन्ताहरू व्यक्त भएका छन्।

तर अध्ययनहरूको समीक्षाको निष्कर्ष के रहेको छ भने सन्तुलनमा हेर्ने हो भने भिटामिन डीलाई भन्दा सनस्क्रीनको खतरालाई कम गर्छ।

सनस्क्रीनमा टक्सिन हुन्छ?

सनस्क्रीनलाई लिएर अर्को के पनि चिन्ताहरू पाइन्छ भने यसमा हुने सामग्रीहरू हाम्रो शरीरले सोस्दा त्यसले हानी गर्छ।

प्रमाणहरूले के सुझाएका छन् भने यूके, इयू, यूएस अनुमोदित सनक्रीमहरू सुरक्षित र प्रभावकारी हुन्छन् र त्यसमा हानिभन्दा यूभी विकिरणबाट मानिसलाई जोगाउने फाइदा बढी हुन्छ।

सनस्क्रीनबारे चिन्ता गर्नुपर्ने विषय भनेको कुनै पनि विशेष सनस्क्रीनका सामग्रीहरूबाट तपाईँलाई एलर्जी हुन्छ भने त्यसले छालामा रातो धब्बा देखिनसक्ने गल्लो बताउँछन्।

"टक्सिन बारेका भनिने कुराहरू बढाइचढाइ गरिए���ा कुराहरू हुन् र त्यसलाई सूर्यका विकिरणले पुर्‍याउने विषाक्त असरसँग नदाँज्नुहोस्," ग्यालोले भने।

"भने अनुसार प्रयोग गर्ने हो भने सनस्क्रीन सुरक्षित हुन्छ र छालाको क्यान्सर हुनुभन्दा यो एकदमै राम्रो कुरा पनि हो।"

सनस्क्रीन

तस्बिर स्रोत, Getty Images

वयस्क मानिसले कति सनस्क्रीन लगाउनुपर्छ?

एफडीएका अनुसार 2 mg/cm2 (0.16in2) सनस्क्रीन छालामा परीक्षणका लागि लगाउनुपर्छ। त्यसको अर्थ यदि त्योभन्दा कम लगाएमा त्यसले छालालाई दिनुपर्ने जति सुरक्षा दिँदैन।

औसत मानिसलाई अनुहार र शरीरमा गरेर सरदर ६ चिया चम्चा सनस्क्रीन आवश्यक पर्छ।

यद्यपि, अध्ययनहरूले देखाए अनुसार मानिसले चाहिनेभन्दा धेरै कम सनस्क्रीन लगाउँछन्। त्यसैले उनीहरूले सोचेभन्दा उनीहरूको छालाले कममात्रै संरक्षण पाएको हुन्छ।

बच्चालाई कति सनस्क्रीन लगाइ दिनुपर्छ?

साना बालबालिकाको छाला यूभी विकिरणप्रति अझ धेरै संवेदनशील हुन्छ। त्यसैले उनीहरूलाई घामबाट जोगाउनु खास महत्त्वपूर्ण छ। ६ महिनाभन्दा कम उमेरका शिशुलाई भने सनस्क्रीन लगाइदिन हुँदैन। ती शिशुलाई प्रत्यक्ष घाममा देखाउन हुँदैन तर खुकुलो लुगा लगाइदिएर छाँयामा भने राख्नुपर्छ।

दुई वर्षको बच्चालाई दुई चिया चम्चा, पाँच वर्षको बच्चालाई तीन चिया चम्चा, ९ वर्षको लागि चार चिया चम्चा र १३ वर्षको लागि पाँच चिया चम्चा सनस्क्रीन लगाउन सिफारिस गरिएको छ। त्योभन्दा माथिकालाई भने वैज्ञानिकहरूले प्रत्येक दुई घण्टामा सनस्क्रीन लगाउन सिफारिस गरेका छन्।

कस्तो खालको सनस्क्रीन प्रयोग गर्नुपर्छ?

धेरै एसपीएफ भएको र लेबलमा "ब्रोड स्पेक्ट्रम" लेखिएको सनस्क्रीन लगाउन महत्त्वपूर्ण हुन्छ जसले यूभीए र यूभीबी दुवै विकिरणहरूबाट जोगाउँछ।

उच्च स्तरको सुरक्षा दिने सनस्क्रीनमा PA**** हुन्छ जसको अर्थ यो लगाउँदा अरू सामान्य लगाउँदा भन्दा १६ गुणा बढी सुरक्षा दिन्छ। कम ** हुनु भनेको त्यसले छालालाई कम सुरक्षा दिन्छ भन्ने हो।

यूभीए सुरक्षाको तह पत्ता लगाउने अर्को तरिका भनेको एसपीएफ हेर्ने हो। एसपीएफ५० भएको सनस्क्रीन जसमा यूभीए रेटिङ ५ हुन्छ त्यसको सुरक्षा क्षमता उत्ति नै रेटिङ भएको एसपीएफ३०को दाँजोमा धेरै हुन्छ।

ब्ल्याकबर्न कम्तीमा एसपीएफ३० र पाँच स्टार रेटिङ भएको सनस्क्रीन लगाउन र लुगाले छाला पनि ढाक्न सुझाउँछन्।

छालाको क्यान्सरबारेका परोपकारी संस्थाहरू बाहिर हिँड्दा शरीरमा जहाँ जहाँ घाम पर्छ त्यहाँ प्रत्येक दिन सनस्क्रीन लगाउन र कपडाले पनि छाला ढाक्न सुझाउँछन्। त्यसबाहेक सनस्क्रीन लगाए नै पनि घाममा बस्ने आफ्नो समय पनि सीमित पार्न आवश्यक रहेको उनीहरू बताउँछन्।

सनस्क्रीन र सनब्लकको फरक के हो?

सनस्क्रीनले तपाईँको छाला र सूर्यबीच रासायनिक रोकावटको रूपमा काम गर्छ। छालामा सूर्यबाट आउने यूभी किरणलाई रोक्नुको सट्टा किरण छालामा प्रवेश गर्न नदिइ आफूले सोस्छ। सनब्लकले भने छाला र सूर्यबीच भौतिक पर्खाल जस्तो खडा गर्छ जसले जसले यूभी किरणलाई छालाभित्र प्रवेश गर्न दिँदैन।

सावधानी

यो रिपोर्टमा भएका सामाग्री सामान्य सूचनाको आधारमा मात्रै उपलब्ध गराइएको हो। तपाईँका चिकित्सक वा अन्य स्वास्थ्य अधिकारीले दिएको सुझावको विकल्पको रूपमा लिन हुँदैन। प्रयोगकर्ताले यो साइटमा राखिएको साग्रीको आधारमा कुनै रोगनिदान गरे त्यसमा बीबीसी जिम्मेवार हुने छैन। बीबीसी कुनै पनि बाह्य सूचिकृत इन्टरनेट सामग्री वा कुनै व्यापारिक उत्पादन वा सेना कुनै पछि साइटमा सुझाएको प्रति बीबीसी उत्तरदायी हुनेछैन। तपाईँको स्वास्थ्यबारेका चासो भए सधैँ आफ्ना जेनेरल फिजिसियनसँग परामर्श गर्नुहोला।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।