छारेरोग नियन्त्रण गर्ने प्रयासमा विश्वमै पहिलो पटक उपकरण जडान

ओरान (सबैभन्दा बायाँ) आफ्नो परिवारका साथमा
तस्बिरको क्याप्शन, ओरन (सबैभन्दा बायाँ) आफ्नी आमा, दाइ र बहिनीसँग बस्छन्
  • Author, फर्गेस वोल्श
  • Role, चिकित्सा सम्पादक

गम्भीर खालको छारेरोग भएका यूकेका एक बालकको खप्परमा उक्त रोग नियन्त्रणका लागि परीक्षण गर्न एउटा उपकरण राखिएको छ। त्यस्तो उपकरण जडान गरिने उनी विश्वको पहिलो व्यक्ति हुन्।

ओरन नोल्सन नाम गरेका ती बालकको मस्तिष्कमा 'न्यूरोस्टिम्युलेटर' नामक उक्त उपकरणले विद्युतीय सङ्केतहरू पठाउँछ।

त्यसले दिउँसो हुने 'सीजर' ८० प्रतिशतले घटाएको छ। सीजर हुँदा बिरामीलाई 'छोप्छ', उसका मांसपेशीहरू नियन्त्रणमा हुँदैनन् र ऊ प्रायः मूर्च्छा पर्छ।

ओरनकी आमा जस्टिनले बीबीसीलाई ओरन अहिले खुसी देखिएको छन् र "उनको जीवन निकै सहज" भएको बताएकी छन्।

उक्त शल्यक्रिया गत वर्ष अक्टोबर महिनामा लन्डनस्थित ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा एउटा परीक्षणअन्तर्गत गरिएको थियो।

त्यस बेला ओरन १२ वर्षका थिए। अहिले उनी १३ वर्षका भए।

नोल्सनको परिवा��� समर्सेटमा बस्छ।

उपचार हुन नसक्ने समस्याबाट पीडित थिए बालक

ओरनलाई तीन वर्षको उमेरदेखि नै 'लेनोक्स-ग्यास्तो-सिन्ड्रोम' अर्थात् एलजीएस छ। छारेरोगसम्बन्धी विद्यमान उपचारविधिबाट यो समस्य निको हुँदैन।

तीन वर्षको उमेरदेखि नै उनलाई दैनिक दुई दर्जनदेखि सयौँ पटकसम्म सीजर भएको छ।

हामीले पहिलो पटक ओरनकी आमासँग केही महिनाअघि थियौँ। त्यस बेला ओरनको शल्यक्रिया हुन बाँकी थियो।

पहिलो कुराकानीमा उनले छारेरोगले कसरी ओरनको जीवन प्रभावित भएको छ भन्ने बताएकी थिइन्। उनले भनेकी थिइन्, "यसले उसको सबै बाल्यकाल लुट्यो।"

उनले हामीलाई ओरन विभिन्न किसिमका लक्षणहरू देखिने बताएकी थिइन्। त्यस्ता लक्षणहरूमा लड्ने, काम्ने र अचेत हुने आदि थिए।

उनले आफ्नो छोराको कहिलेकाहीँ सास नै रोकिने र त्यसको उपचारका लागि आपत्कालीन औषधि खुवाउनुपरेको पनि बताएकी थिइन्।

‍परीक्षण गरिएका बालकमा कस्ता समस्या

ओरनलाई अटिजम र एडीएचडी पनि छ। तर जस्टिन छारेरोगलाई सबैभन्दा ठूलो समस्या मान्छिन्।

उनी भन्छिन्, "मेरो छोरो तीन वर्षको हुँदासम्म एकदमै तीक्ष्ण थियो तर उसलाई छारेरोगका लक्षणहरू देखिन थालेपछि केही महिनाभित्रै ऊ निरन्तर कमजोर बन्यो र उसले आफ्ना सबै क्षमता गुमायो।"

ओरनलाई 'सीएडीईटी' परियोजनामा संलग्न गराइएको छ। यो परियोजनाले गम्भीर खालको छारेरोग भएका व्यक्तिमा 'डीप ब्रेन स्टिम्युलेशन' विधि कति सुरक्षित र प्रभावकारी हुन्छ भनेर विभिन्न परीक्षणहरू गरिरहेको छ।

यो परीक्षणमा ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटल, यूनिभर्सिटी कलेज लन्डन, किङ्स कलेज अस्पताल र यूनिभर्सिटी अफ अक्सफर्ड सहभागी छन्।

'पिकोस्टिम न्यूरोट्रान्स्मिटर' चाहिँ एम्बर थेरप्यूटिक्स नामक एउटा ब्रिटिश कम्पनीले बनाएको हो।

यो उपकरणले कसरी काम गर्छ

ओरानको खप्परमा जडित उपकरण हेडफोनबाट चार्ज हुन्छ
तस्बिरको क्याप्शन, यो उपकरण हेडफोनबाट चार्ज हुन्छ

मस्तिष्कमा अकस्मात् असामान्य विद्युतीय गतिविधि हुँदा छारेरोगका लक्षणहरू देखा पर्न थाल्छन्।

यो उपकरणबाट निरन्तर विद्युत् प्रवाह हुन्छ अनि यसले असामान्य विद्युतीय सङ्केतहरूलाई रोक्ने वा छिन्नभिन्न पारिदिन सक्छ।

शल्यक्रियाअघि जस्टिनले भनेकी थिइन्, "म ऊ अलिकति भए पनि पहिलाको जस्तै होस् भन्ने चाहन्छु। म मेरो छोरालाई पुरानै अवस्थामा फिर्ता ल्याउन चाहन्छु।"

गत अक्टोबरमा भएको उक्त शल्यक्रिया आठ घण्टा लामो थियो।

शल्यक्रियामा के गरियो

चिकित्सकहरूको टोलीको नेतृत्व बालस्नायुशल्यचिकित्सक मार्टिन टिस्डलले गरेका थिए।

उनीहरूले ओरनको मस्तिष्कको 'थ्यालमस' भनिने भित्री भागसम्म पुग्ने गरी दुइटा 'इलेक्ट्रोड' छिराएका थिए। उक्त भाग स्नायुकोषीय सङ्केत प्रसारण गर्ने महत्त्वपूर्ण 'रिले स्टेशन' हो।

त्यसरी 'लीड' राख्ने प्रक्रियामा हुन सक्ने 'मार्जिन अफ एरर' अर्थात् त्रुटिको सीमा एक मिलिमिटरभन्दा कम थियो।

ती लीडका दुई छेउहरू न्यूरोस्टिम्युलेटरमा जोडिएको थियो। उक्त वर्गाकार उपकरणको लम्बाइ र चौडाइ ३.५ सेन्टिमिटर अनि मोटाइ ०.६ सेन्टिमिटर थियो। त्यसलाई ओरनको खप्परको हड्डी काटेर बनाइएको खाली ठाउँमा राखिएको थियो।

त्यसपछि उक्त न्युरोस्टिम्युलेटरको पेच खप्परमा कसियो।

पहिला पनि बाल्यकालमा देखा पर्ने छारेरोग भएका बिरामीमा 'डीप ब्रेन स्टिम्युलेशन' प्रयोग गरेर हेरिएको छ। तर यसअघिसम्म न्यूरोस्टिम्युलेटर छातीमा जडान गरिन्थ्यो र तारहरू मस्तिष्कसम्म पुग्थे।

ओरनको खप्परभित्र राखिएको उपकरण

आशा

उक्त शल्यक्रियाको नेतृत्व गरेका मार्टिन टिस्डलले बीबीसीसँग भने, "यो अध्ययनले हामीलाई गम्भीर प्रकारको छारेरोगका लागि 'डीप ब्रेन स्टिम्युलेशन' प्रभावकारी उपचारविधि हो कि होइन भनेर पहिचान गर्न सहयोग पुर्‍यउनेमा हामी आशावादी छौँ। अनि यसले बालबालिकालाई उपयोगी हुने तथा छातीमा नभई मस्तिष्कमा प्रत्यारोपण गर्न मिल्ने नयाँ प्रकारको उपकरणको पनि खोजी गरिरहेको छ।"

"हामी यसबाट सम्भावित जटिलता कम हुन्छ भन्ने हाम्रो आशा छ।"

यो परीक्षणमा शल्यक्रियापछि सङ्क्रमणको जोखिम कम गर्ने र यन्त्र असफल नहुने सुनिश्चितता गर्ने कुरा पनि पर्छ।

शल्यक्रियापछि ओरनलाई तङ्ग्रिन एक महिनाको समय दिइएको थियो। त्यसपछि मात्र न्यूरोस्टिम्युलेटर सञ्चालन गरिएको थियो।

ओरानको खोपडीमा राखिएको उपकरण हेडफोनबाट चार्ज हुन्छ

तस्बिर स्रोत, Justine Knowlson

तस्बिरको क्याप्शन, ओरानको खोपडीमा राखिएको उपकरण हेडफोनबाट चार्ज हुन्छ

ओरन त्यो उपकरण चलेको थाहा पाउँदैनन्। उनी प्रत्येक दिन ताररहित हेडफोन प्रयोग गरेर उक्त उपकरणलाई 'रिचार्ज' गर्न सक्छन्।

शल्यक्रियाको सात महिनापछि ओरन र उनको परिवारको अवस्था हेर्न हामी उनीहरूको घर गयौँ।

जस्टिनले बताएअनुसार ओरनको अवस्थामा व्यापक सुधार आएको छ। उनले भनिन्, "ऊ निकै सतर्क भएको छ र दिउँसो मूर्च्छा परेको छैन।"

राति पनि "छोटो र खासै गम्भीर खालको" सीजर नभएको उनले बताइन्। "म बिस्तारै उसलाई उसको आफ्नै अवस्थामा पाउँदै छु," उनले भनिन्।

मार्टिन टिस्डलले भने, "ओरन र उनको परिवारले उपचारबाट यति ठूलो फाइदा भएको महसुस गरे। उनको जीवनको गुणस्तरमा नाटकीय रूपमा सुधार भएकोमा हामी खुसी छौँ।"

ओरनले अहिले घोडा चढ्न सिक्दै छन्। घोडा चढ्दा उनी रमाउँछन्।

उनलाई केही भएमा सहयोग गर्नका लागि अक्सिजन हातमा लिएकी एक नर्स र उनलाई घोडचढी सिकाउने एक व्यक्ति सधैँ नजिकै रहन्छन्।

परीक्षणअन्तर्गत एलजीएस भएका थप तीन बालबालिकामा पनि 'डीप ब्रेन न्यूरोस्टिम्युलेटर' जडान गरिने छ।

ओरन अहिले उपकरणबाट निरन्तर रूपमा "विद्युतीय उत्तेजना" प्राप्त गर्छन्।

भविष्यको योजना

अनुसन्धानकर्ताहरूको टोलीले भविष्यमा मस्तिष्कको गतिविधिमा हुने परिवर्तनहरूका लागि तत्काल प्रतिक्रिया दिने खालको न्यूरोस्टिम्युलेटर बनाउने योजना बनाएको छ। मूर्च्छा पर्न लागेको अवस्थामा त्यसो हुन दिने प्रयासस्वरूप त्यसो गर्न लागिएको हो।

जस्टिन दोस्रो चरणको परीक्षणबारे आफू एकदमै उत्साहित भएको बताउँछिन्।

उनले भनिन्, "ग्रेट ओर्मन्ड स्ट्रीटस्थित विज्ञहरूको टोलीले हाम्रो आशा जगाइदिइएको छ। ... अब भविष्य उज्यालो देखिन्छ।"

परिवारलाई यो परीक्षणबाट ओरन रोगमुक्त हुँदैनन् भन्ने थाहा छ। तर यसले गर्दा उनी छारेरोगको छायाबाट बाहिर आउन सक्छन् कि भन्ने आशा छ।

एम्बर थेरप्यूटिक्सको स्वामित्वमा रहेको पिकोस्टिम न्यूरोस्टिम्युलेटर 'पार्किन्सन्स रोग' भएका बिरामीमा पनि प्रयोग भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।