‌जब प्रकाशलाई प्रेमले विदेशबाट डोर्‍याएर पारा-ओलिम्पियन मैयाँ बिशुङ्खेको निकट पुर्‍यायो

मैयाँ बिशुङ्खे र प्रकाश मिजार
तस्बिरको क्याप्शन, पारा ओलिम्पियन खेलाडी मैयाँ बिशुङ्खे र प्रकाश मिजारको जोडीको प्रेम कथा रोमाञ्चक छ
  • Author, निरञ्जन राजवंशी
  • Role, बीबीसी न्यूज नेपाली

चाबहिलको केएल टावरमा भेट्ने तय थियो। प्रकाश मिजार दुबईबाट छोटो बिदामा फर्केका थिए। त्यहीँ मैयाँ बिशुङ्खेले प्रकाश मिजारलाई पहिलो पटक प्रत्यक्ष देखिन्।

केही अप्ठेरो, थोरै लाज तर एउटा रोमाञ्चक अनुभव। त्यहाँ दुवैले एउटा फिल्म हेरे। अनि प्रकाशले प्रेम प्रस्ताव रा��े।

मैयाँ बिशुङ्खेले 'हुन्छ भन्न पनि सकिनन्, हुन्न भन्न पनि सकिनन्'। सायद थुप्रै प्रेमकथामा यस्तै हुँदो हो।

तर मैयाँ र प्रकाशको प्रेमकथा अलि फरक नै छ। यो कथा आफ्नो प्रेम साकार पार्न विदेश त्यागेर काठमाण्डू आएका प्रकाश र अनाथ जीवन बिताइरहेकी चर्चित पारा-ओलिम्पिक्स खेलाडी मैयाँ बिशुङ्खेको हो।

ओलिम्पियन मैयाँ

सबभन्दा पहिले मैयाँलाई चिनौँ।

जन्मिँदा नै उनको दायाँ हातको आधा भाग थिएन। चार वर्षको हुँदा आमाले छाडेर गइन्। बुबाले जेनतेन हुर्काए। तर बुबा पनि बितेपछि मैयाँ १० वर्षकै उमेरमा अनाथ भइन्।

झापाकी मैयाँ एसओएस जोरपाटीको सहारामा पुगिन्।

जीवन अनिश्चित थियो। तर मैयाँ एथलेटिक्समा बाल्यकालदेखि नै अब्बल थिइन्। सन् २००६ मा एसओएसबाट खेलेको राष्ट्रिय च्याम्पियनसिपमा जब उनले स्वर्ण पदक जितिन्, उनको जीवनले नयाँ मोड लियो।

मैयाँ बिशुङ्खे

तस्बिर स्रोत, Maiya Bisunkhe

तस्बिरको क्याप्शन, सन् २०१२ को पारा ‌ओलिम्पिक्स खेलमा मैयाँ बिशुङ्खे

एकपछि अर्को प्रतियोगिता जित्न थालेपछि मैयाँ पारा एथलेटिक्समा चिनिन थालिन्।

सबैलाई पछि पार्दै मैयाँ सन् २००८ को बेइजिङ पारा ओलिम्पिकमा छनोट हुन सफल भइन्। तर कोटा कम आएको भन्दै अन्तिम समयमा नाम काटिएपछि उनले खेल्न भने पाइनन्।

तर उनले हरेस खाइनन्।

लगातार खेलकुदमा मेहनत गरेपछि सन् २००९ मा जापानमा पारा यूथ गेम्स, सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली पारा गेम्स र त्यसको २ वर्षपछि लन्डन पारा ओलिम्पिकमा उनले ��ेशको प्रतिनिधित्व गरिन्।

६ वर्षको बीचमा उनी पारा खेलाडीले खेल्ने ठूला प्रतियोगिताको मुख्य पात्र बन्न सफल भइन्।

एसओएसको कोठामा अनिश्चित जीवन बिताइरहेकी मैयाँले खेलकुदमार्फत् नाम, साहस र दरिलो लक्ष्य पाइसकेकी थिइन्।

प्रकाशको प्रवेश

मैयाँ बिशुङ्खे र प्रकाश मिजार

तस्बिर स्रोत, Maiya/Prakash

तस्बिरको क्याप्शन, बिहेको कामकुरा छिन्ने क्रममा मैयाँ बिशुङ्खे र प्रकाश मिजार

मैयाँले चर्चा पाइरहेको त्यो बेला मुलपानीका प्रकाश भने वैदेशिक रोजगारीमा दुबईमा थिए।

एकदिन मैयाँलाई सामाजिक सञ्जालमा प्रकाशको 'फ्रेन्ड रिक्वेस्ट' आयो। प्रकाश पनि बिशुङ्खे भएकोले बिशुङ्खे थर देखेर उनले 'फ्रेन्ड रिक्वेस्ट' पठाएका रहेछन्।

त्यसपछि यी दुईको च्याटमा नियमित जसो कुरा हुन थाल्यो। मित्रता गहिरियो।

त्यसबीच प्रकाशले मैयाँको सबैकुरा थाहा पाए। उनको शारीरिक अवस्था र जीवनमा गरेको सङ्घर्ष बुझे। अनि प्रकाश नजानिँदो तरिकाले मैयाँ प्रति आकर्षित भए।

मैयाँलाई भेट्नकै लागि छुट्टी लिएर नेपाल फर्किए। त्यसपछि भएको हो पहिलो भेट। माथि नै भनिए झैँ प्रकाशले मैयाँसँगै जीवन अगाडि बढाउने वाचा त्यही बेला गरे।

मैयाँबारे प्रकाश भन्छन्, "निष्कपट हाँसो र त्यसभित्र लुकेको सङ्घर्ष।"

प्रेममा सङ्घर्ष

'फरक क्षमता' को व्यक्तिमाथि हेयको दृष्टिकोण पटक्कै होइन, तर जुनकुनै अभिभावकले 'छोरोको राम्रो मात्र होस्' भनेर सोच्नु अस्वाभाविक हुँदैन।

सुरुआतमा प्रकाशको परिवारले पनि त्यही नै गरे। साथीभाइले पनि डर देखाए - "विचार गरे है! भविष्यमा गाह्रो होला।"

प्रकाशको सङ्घर्ष अब त्यतातिर थियो। परिवारको चाहना अनुरूप उनले बिहेका लागि अर्को केटी पनि हेर्नुपर्‍यो। बिहेको सहमति समेत भयो।

तर मैयाँको मायाका लागि प्रकाश जो कोहीसँग 'आन्दोलन' गर्न तयार थिए।

अनि त कामकुरा छिन्न�� अगाडि नै प्रकाश दुबई फर्किए। दुबई पुगेपछि उनले परिवारसामु कडा सर्त राख्दै भनेछन्, " मैयाँसँग बिहे गर्ने भएमात्र नेपाल फर्किन्छु।"

छोरोको चाहनामा अब परिवारको कुनै विमति रहेन। त्यसको नौ महिनापछि प्रकाश सधैँको लागि वैदेशिक रोजगारी त्यागेर नेपाल फर्किए।

त्यतिबेला मैयाँ एसओएसकै शाखाको रूपमा रहेको नक्सालको यूथ गर्ल्स होस्टलमा बस्थिन्। त्यहाँको वार्डेन रत्न दिदीसँग उनको हात माग्न प्रकाश पुगे। रत्न दिदीले एसओएसको स्वीकृति चाहिने बताएपछि प्रकाशको परिवार एसओएस जोरपाटीमा पुगे।

एसओएसका तत्कालीन निर्देशक थिए रविन नेपाली। उनको स्वीकृतिपछि त्यहाँ प्रकाश-मैयाँको कामकुरो छिन्ने काम भयो। त्यसको एक महिनापछि २०७३ फागुन ३ गते बिहे तय भयो।

मुलपानीका प्रकाश बाजागाजा सहित परिवार, गाउँलेका साथ एसओएस बालग्राम जोरपाटी पुगेर धूमधामसँग बिहे गरे।

फिल्मको कथा होइन, मैयाँको जीवनमा साँच्चैको 'प्रकाश' प्रवेश भएको थियो।

त्यहाँ कुनै सहानुभूति थिएन, थियो त चोखो माया मात्रै।

त्यसैले विवाहको दिन मैयाँको आँसु थामिएको थिएन। अनिश्चित भविष्यतिर रुमल्लिएको एउटा अनाथले भोगेको पीडाको आँसु र त्यसमा प्रकाशले बढाएको मायाको खुसी मिश्रित आँसु मज्जाले बगेको थियो।

आदर्शको कुरा गर्नेहरू धेरै हुन्छन्, तर यथार्थमा प्रकाशले चालेको 'हिम्मतको पाइला' गजबको थियो। गाउँभरि उनको प्रशंसा भयो।

अटुट जोडी

मैयाँ बिशुङ्खे र प्रकाश मिजार

तस्बिर स्रोत, Maiya/Prakash

तस्बिरको क्याप्शन, ८ वर्ष अगाडि आजकै दिन यो जोडीको विवाह प्रणय दिवसकै दिन परेको थियो

बिहे भएको ८ वर्ष भयो। यी प्रेमिल जोडीको मायामा कुनै कमी छैन।

ओलिम्पियन मैयाँ पनि सामान्य पात्र कहाँ हुन् र! जीवनसङ्घर्षले खारिएकी उनले आफ्नो क्षमता पस्किसकेकी छन्।

''लुगा धुन सक्दिनन् कि, खाना कसरी पकाउलिन्?'' भन्ने जस्ता पुरातन सोचलाई उनले पूरै बदलिदिएकी छिन्। सासू बेली बिशुङ्खे भन्छिन्, "आत्मनिर्भर छन्। हामीलाई केही दुःख छैन।"

प्रकाशको हरेक पाइलामा मैयाँको दरिलो साथ छ।

प्रकाश भन्छन्, "बरु कहिलेकाहीँ उसको मायाको अगाडि मेरो माया पो कम भयो कि जस्तो लाग्छ।"

अनि प्रकाशको माया चाहिँ कस्तो नि? मैयाँ ��न्छिन्, "खै, जति बुझ्यो उति नै गहिरो छ।"

अहिले छोरी प्रणिशा विशुङ्खे पनि ६ वर्ष पुगिसकिन्।

छोरीलाई प्रकाश लक्की मान्छन्। उनी भन्छन्, "ऊ जन्मेकै साल मैले स्कुटर उपहार पाएँ नि।"

सङ्घर्ष अझै जारी

३४ वर्षीय प्रकाश अहिले बुढानीलकण्ठको एक होटलमा हाउस किपिङ एटेन्डेन्टको काम गर्छन्। जीवन सङ्घर्ष त जारी नै छ।

मैयाँ पारा खेलाडीहरूलाई अगाडि बढाउने अभियानमा छिन्।

भर्खरै मात्र मैयाँ 'पारा थ्रो बल समाज नेपाल' को अध्यक्ष भएकी छिन्। त्यसमार्फत् घर भित्रै खुम्चिएका थुप्रै अपाङ्गता भएका व्यक्तिहरूलाई समाज र संसार देखाउने उनको लक्ष्य छ।

त्यो अभियानमा बल थप्ने काम प्रकाशले गर्छन्।

झगडा पर्छ? मैयाँ भन्छिन्, "किन नपर्नु नि।"

तर त्यसको अन्त्य तुरुन्तै हुने गर्दो रहेछ "परालको आगोको कथा झैँ"।

आजको दिन त यो जोडीको लागि विशेष छ।

'भ्यालेन्टाइन्स् डे' भएर होइन। मिठो संयोग, आठ वर्षअगाडि आजकै दिन यो जोडीको विवाह प्रणय दिवसकै दिन परेको रहेछ।

अनि तिथिले आजै छोरी प्रणिशा जन्मेको दिन पनि।

प्रकाश/मैयाँ भन्छन्, "आजको दिन त विशेष हो नि। हामी एक भएको दिन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।