एआईले जापानमा कामदार अभावको समस्या समाधान गर्नसक्छ?

म:म

तस्बिर स्रोत, Getty Images

  • Author, मारिको ओई
  • Role, व्यापार संवाददाता

घट्दो जनसङ्ख्यासँगै जापानमा कामदारको अभाव बढ्दो छ। कैयौँ मानिसहरूले आर्टिफिसल इन्टेलिजेन्स एआईले यो खाडल पुर्ने विश्वास गरिरहेका छन्।

सबै कुरा चट्ट मिलेको चाहिने पहिचान बनाएको जापानमा आकार नमिलेको वा बिग्रिएका सब्जी वा फलफूल पनि हतपती बिक्री हुँदैनन्।

त्यसमाथि यदि तपाईँ जापानी म:म बनाउने ओसाका ओसोजस्तो विशिष्ट कम्पनी हुनुहुन्छ भने आकार नमिलेका ग्योजा म:म तपाईँका निम्ति बिल्कुल अस्वीकार्य हुन्छन्।

तर कोरोनाभाइरस महामारीको समयमा यसको मातृ कम्पनी इट एन्ड होल्डिङ्सँग म:मका प्रत्येक डल्ला जाँच गरेर पठाउन पुग्ने जनशक्ति भएन। त्यसकारण उक्त कम्पनीले यसका लागि प्रविधिको सहयोग खोजी गर्‍यो।

सन् २०२३ को ज्यानुअरीमा यसले एउटा उच्च प्रविधियुक्त म:म बनाउने कारखाना खोल्यो। यहाँ एआई प्रविधिबाट प्रशिक्षित क्यामराहरूले आकार प्रकार नमिलेका ग्योजा म:मका डल्लाहरू पहिचान गर्न सुरु गरे।

अहिले यो कारखानामा प्रत्येक सेक��न्डमा दुई वटा म:म बन्छन्। यो ओसाका ओसोका अन्य कारखानाले उत्पादन गर्ने भन्दा दोबर गति हो।

"हामीले एआईको सहयोगमा काम लिएपछि उत्पादन क्षेत्रमा मानव कामदारहरू ३० प्रतिशतले कटौती गर्‍यौँ,” कम्पनीका प्रवक्ता केइको हान्डा भन्छन्। यो कम्पनीले हालै आफ्नो टोक्योमा रहेको एक रेस्टुराँमा आई रोबो नाम गरेको एआई प्रविधियुक्त पकाउने रोबोट राखेको छ।

पकाउने सेफहरूलाई तालिम दिन लामो समय लाग्ने भए पनि यो कम्पनीले प्रविधिले कामदारहरूको अभावको समस्या समाधान गर्न सहयोग गर्ने बताएको छ।

घट्दो जनसङ्ख्या र बढ्दो कामदार माग

इट एन्ड होल्डिङ्सको रोबोट

तस्बिर स्रोत, Eat&Holdings

जापानको कामदार अभाव अझै खराब स्थितिमा पुग्ने ठानिएको छ।

जापानको अहिलेको जनसङ्ख्या १२ करोड छ र त्यो १३ वर्षदेखि निरन्तर घटिरहेको छ।

जापानको श्रम शक्ति सन् २०२२ देखि २०२४ को अवधिमा १२ प्रतिशतले घट्ने आकलन गरिएको छ। उक्त समयमा जापानमा एक करोड १० लाख कामदारहरूको अभाव हुने ठानिएको छ।

एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र अहिले नै विश्वमै सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या भएको देश भइसकेको छ। यो देशको कुल जनसङ्ख्याको २९ प्रतिशत मानिसहरू ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका छन्।

विश्वकै सबैभन्दा कम मध्येको जन्मदर पनि यही देशमा छ।

गत वर्ष जापानमा जम्मा ७,५८,६३१ जना बच्चा जन्मिएका थिए। यो सङ्ख्या १९औँ शताब्दीदेखि अभिलेख राख्न सुरू भएयताकै सबैभन्दा कम हो।

जन्मदर बढाउने सरकारको प्रयासले निकै कम मात्रै सफलता हासिल गरेको छ।

देशका प्रधानमन्त्री फुमिओ किसिदाकै शब्दमा भन्ने हो भने उनको देश “सञ्चालन हुनै नसक्ने अवस्थाको सङ्घारमा छ।”

एआईले ल्याएको परिवर्तन

विश्वमा एआई सुरु भएपछि कैयौँले यसले हाम्रो जागिर खोस्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए।

तर केही कामहरूका लागि भने एआईको विकास आवश्यकता जति छिटो अझै हुन सकिरहेको छैन।

देशमा सबैभन्दा धेरै पाको उमेरका मानिसहरूले धान्दै आएको उद्योग कृषि हो।

अहिले जापानका किसानहरूको औसत उमेर ६८.४ वर्ष छ।

यो उद्योगमा एआईको प्रयोग बालीमा लाग्ने विभिन्न प्रकारका रोग, किरा र झारपातहरूको पहिचान गर्न भइरहेको छ।

कृषि र कृषक

तस्बिर स्रोत, Kensuke Takahashi

जापानको निहोन नोह्याकु कम्पनीले कृषिका लागि आवश्यक रासायनिक मल उत्पादन गर्छ। यो कम्पनीले निचिनो एआई नामको मोबाइल एप विकास गरेको छ। किसानले राम्ररी हुर्कन नसकेका बालीको तस्बिर खिचेपछि यो एपले खराबी पहिचान गर्नुका साथै कुन विषादी प्रयोग गर्ने भन्ने जानकारी पनि दिन्छ।

“यसले ७० देखि ८० प्रतिशतसम्म मिलाउँछ। वास्तविक विज्ञ जत्तिकै राम्रो त यो छैन तर साधारण किसान भन्दा अवश्य अब्बल छ,” निहोन नोह्याकुका केन्तारो तानिगुची भन्छन्।

“हामीले जति जति यो एपमा काम गर्‍यौँ त्यति त्यति हामीलाई लाग्यो कि मानव विज्ञ कति धेरै अब्बल रहेछन्,” उनी बताउँछन्। “तर विज्ञहरूको सङ्ख्या घट्दो छ त्यसकारण पनि एआई प्रविधिहरू सजिला भएका छन्।”

एक जना किसान केनसुके ताकाहासीले तीन वर्षदेखि एआई एपको प्रयोग गरिरहेका छन्। उनी यस्तो प्रविधिले कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुग्ने बताउँछन्।

"किसानहरूको सङ्ख्या रोलरकोस्टर जस्तो तीव्र गतिमा घटिरहेको छ," उनी भन्छन्। "तर जापानको कुल कृषि उत्पादन भने बढिरहेको छ।"

ताकाहासी केही पाका किसानहरू एआई लगायतका नयाँ प्रविधिमा सहजै विश्वास नगर्ने बताउँछन्। तर उनको बुझाइमा एआईले क्षमता बढाउन सहयोग गरिरहेको छ।

"तपाईँले विषादी छर्कन ड्रोनको प्रयोग गर्नुभयो भने तपाईँ मान्छेले छर्कने प��रानै प्रचलनमा फर्कनै सक्नुहुन्न," उनी हाँस्दै सुनाउँछन्।

तर भाषा शिक्षकहरू जस्ता सधैँ अभाव भइरहने जनशक्तिका हकमा पनि एआईले सहयोग गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न जापानीहरूमा छ।

सरकारले अङ्ग्रेजी बोल्नसक्ने मानिसहरूको सङ्ख्या उल्लेख्य रूपमा बढाउन निरन्तर प्रयास गरिरहे पनि जापानीहरूको अङ्ग्रेजी भाषा निकै कमजोर छ।

यसको एउटा कारण जापानमा राम्रो अङ्ग्रेजी पढाउने शिक्षकहरूको अभाव पनि हो।

विद्यार्थी पढाउन एआई

विद्यार्थी

तस्बिर स्रोत, Equmenopolis

यो अभावको समाधानका लागि एउटा नवप्रवर्तन कम्पनी एक्युमेनोपोलिसले एउटा अवतार विकास गरेर प्रयोगकर्ताहरूले एक पटकमा १५ मिनेटसम्म अङ्ग्रेजीमा कुरा गर्न सक्ने अनलाइन प्रविधि विकास गरेको छ।

यो प्रविधिलाई अहिलेसम्म देशभरिका ५० वटा विद्यालयहरूमा प्रयोगमा ल्याइएको छ।

टोकियोको बाहिरी क्षेत्रमा रहेको नारिता कोकोसाई विद्यालयका विद्यार्थीहरूलाई वर्षको अन्त्यमा यो प्रविधिको प्रयोग गरेर तीन महिनासम्म घरमा अभ्यास गर्न लगाइयो।

"एआईले प्रत्येक विद्यार्थीले कुन स्तरको अङ्ग्रेजी भाषामा कुराकानी गर्नसक्छन् भन्ने पहिचान गरेर त्यही अनुसारको प्रश्नहरू सोध्छ,” विद्यालयकी शिक्षिका सोको ताकिगुचीले बीबीसीसँग भनिन्।

“हरेक विद्यार्थीसँग शिक्षकले एक्का एक्लै कुरा गर्न कठिन हुन्छ। त्यसकारण यो प्रविधिको फाइदा छ।”

कुराकानी सकिएपछि विद्यार्थीहरूले उच्चारण, व्याकरण, धाराप्रवाह बोल्ने शैली र शब्दावलीको छनोट सहित ६ वटा पक्षमा सुझाव पाउँछन्।

"एआईको सहयोगमा कुन पक्षमा मेरो कमजोरी छ भन्ने थाहा पाउन सजिलो भएको छ। त्यसकारण यो उपयोगी छ," एक जना विद्यार्थी को हानयुआन बताउँछन्।

तर मानिससँग अन्तर्क्रिया नहुने भएका कारण उनी त्यसभन्दा अनलाइनमा मानिसहरूले पढाउने कक्षाहरू नै आफ्नो रोजाइमा पर्ने बताउँछन्।

विद्यार्थी

तस्बिर स्रोत, Narita Kokusai High School

यसमा ताकिगुची सहमति जनाउँछिन्।

"तपाईँको बोल्ने सीपको विकास गर्न यो निकै उपयोगी छ। तर मलाई पनि संवाद प्राकृतिक चाहिँ लाग्दैनन्," उनले भनिन्। उनी एआईले मानिसहरूको प्रतिक्रिया, शारीरिक अवस्था र लवजमा आएको परिवर्तन पहिचान गर्न नसक्ने बताउँछिन्।

त्यसोभए यसले मानव शिक्षकहरूलाई विस्थापन गर्न ��क्दैन त?

"एआईले विद्यालयमा र शिक्षकहरूबाट पठाइने अङ्ग्रेजी पाठहरूलाई विस्थापित गर्न सक्दैन र हुँदैन पनि," विद्यालयका प्रधानाध्यापक कासुतोषी फुकुमिजु बताउँछन्।

सरकारको पनि एआई परीक्षण

जापानको सरकारले पनि एआईको परीक्षण गरिरहेको छ।

कामदार अभाव भएपछि योकोसुका सहरको प्रशासनले एआई च्याटबोट च्याट जीपीटीलाई प्रशासकीय कामहरूका साथै बैठकहरूमा भएका कुराकानी उतार्न र संक्षेपिकरण गर्न प्रयोग गरिरहेको छ।

"हामीले निकै धेरै सङ्ख्यामा कागजपत्रहरूको काम गर्नुपर्छ। अनि ती कागजातहरू बनाउन निकै लामो समय र मेहनत आवश्यक हुन्छ," कोहेइ ओता भन्छन्।

उनका अनुसार च्याट जीपीटीको प्रयोग गर्न थालेयता उनीहरूलाई एक वर्षमा २२,७०० कार्य घण्टा बचत भएको छ।

केन्द्रीय सरकारले सार्वजनिक प्रशासनमा बढ्दो कर्मचारी अभाव पूर्तिका लागि सन् २०२१ मा स्थापना गरेको डिजिटल एजेन्सीमा पनि कर्मचारीलाई तालिम दिन एआईको प्रयोग गरिएको छ।

"हामीले गर्नुपर्ने काम निकै धेरै छन्। तर हामीसँग भएको जनशक्तिले त्यो सबै भ्याउँदैन," एजेन्सीका मासानोरी कुसुनोकी बताउँछन्।

उनका अनुसार सरकारले एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे खोज गरिरहेको छ र त्यसबाट पहिचान भएको कुरा निजी क्षेत्रलाई पनि फैलाइने छ।

तर कुसुनोकी एआईको प्रयोग बढ्दैमा कम कामदार चाहिनेमा विश्वास गर्दैनन्।

कुनै पनि परिवर्तनका लागि समय लगाउने भनिएको जापान एआईको प्रयोग अँगाल्न भने अरू भन्दा अगाडि देखिएको छ।

यसको एउटा कारण एक दशकभन्दा अघिबाट देशमा बढ्दो पाका मानिसहरूको जनसङ्ख्या सँगै कामदारहरूको अभाव हो।

कामदार अभावका लागि जापानले रोबोट देखि विदेशी कामदारहरूसम्म सम्भव भएजति सबै माध्यमको सहयोग लिइरहेको छ।

एआईले मानिसहरूले गर्ने कामको नतिजा बढाउन सक्ने भए पनि यसले तत्काल मानव कामदारहरूलाई प्रतिस्थापन गर्ने चाहिँ देखिएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुक�� पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।