यूके निर्वाचन २०२४: दाउमा के छ र अब के हुन्छ

यूकेको झण्डा र मतपेटिका

तस्बिर स्रोत, Getty Images

यूकेका प्रधानमन्त्री ऋषि सुनकले शरद् याममा हुने ठानिएको देशको संसदीय निर्वाचन जुलाई ४ मा गर्ने घोषणा गरेका छन्। यसबारे तपाईँको मनमा हुन सक्ने जिज्ञासा हामीले यो सामग्रीमा मेट्ने प्रयास गरेका छौँ।

मतदान कहिले हुन्छ

यूकेमा निर्वाचित भएको सरकारको आयु पाँच वर्षसम्म रहन्छ। सन् २०१९ को डिसेम्बरमा भएको निर्वाचनमा कन्जर्भेटिभ पार्टी विजयी भएको थियो।

कानुनअनुसार सन् २०२५ को ज्यानुअरीसम्म यो पार्टीले सरकार चलाउन मिल्ने सुविधा भए पनि यूकेमा संसदीय निर्वाचन २०२४ को जुलाई ४ का लागि तय भएको छ।

यूकेमा कुल ६५० वटा संसदीय निर्वाचन क्षेत्र छन्। यस्ता प्रत्येक क्षेत्रका मतदाताले तल्लो सभा 'हाउस अफ कमन्स'मा आफ्नो प्रतिनिधित्व गर्न सांसदहरू चयन गर्छन्।

निर्वाचनमा अधिकांश उम्मेदवारहरू राजनीतिक दलबाट हुने भए पनि केहीले स्वतन्त्र उम्मेदवारी पनि दिने गरेका छन्।

ऋषि सुनकले किन छिट्टै चुनाव घोषणा गरे?

ऋषि सुनक चुनाव घोषणा गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ऋषि सुनकले चुनावको घोषणा गर्दा पानी परिरहेको थियो

मतसर्वेक्षणहरूमा ऋषि सुनकको कन्जर्भेटिभ पार्टीको लोकप्रियता सन् २०२१ देखि नै खस्कँदो क्रममा रहेको देखिन्छ।

बीबीसीका राजनीतिक सम्पादक क्रिस मेसन दलभित्रका कतिपयले “अवस्था खासै नसुध्रिने महसुस गरेका थिए र मतदाताहरूलाई आफ्नो अपेक्षाबारे धारणा राख्न तत्कालै अवसर नदिइए र मतदातासँगको भेटलाई पछि धकेलिए कन्जर्भेटिभ पार्टी नराम्ररी पराजित हुने जोखिम औँल्याएको” बताउँछन्।

“अर्को शब्दमा भनुपर्दा कि त अहिल्यै गर्नुपर्थ्यो वा अझै खराब अवस्थाका लागि तयार हुनुपर्थ्यो।”

“प्रधानमन्त्रीले पनि आफ्ना केही उद्देश्यहरू पूरा भएको वा पूरा हुने दिशामा देखिएको सङ्केत गर्न सक्छन्। अहिले मूल्यवृद्धि नियन्त्रणलाई एउटा सफलताको रूपमा उल्लेख गर्न सकिन्छ। यो पक्कै पनि सरकारको कदमका कारण मात्रै नियन्त्रणमा रहेको भने होइन तर मूल्य अकासिँदा त्यसको दोष सरकारलाई जान्छ। त्यस कारण यसको जस लिन खोज्नु वा लिनु तर्कसङ्गत नै देखिन्छ।”

“अर्थतन्त्रको व्यापक दायरा पनि केही उज्यालो देखिएको छ।”

मतसर्वेक्षणले के देखाउँछ

ताजा मतसर्वेक्षणहरूमा सुनकको कन्जर्भेटिभ पार्टी उसको प्रमुख प्रतिस्पर्धी लेबर पार्टीभन्दा धेरै पछि देखिएको छ।

निर्वाचनको मिति घोषणा हुनुभन्दा १२ महिनाअघिदेखि सर्वेक्षणमा लेबर पार्टीले निरन्तर ४० प्रतिशतभन्दा बढी मत पाइरहेको थियो।

यूके निर्वाचन

मतसर्वेक्षणहरू यथार्थपरक नहुन पनि सक्छन्।

अनि सुनकले पनि मूल्यवृद्धि नियन्त्रण र नीतिसम्बन्धी मञ्चहरूमा पार्टीले दिएको जोडले निर्वाचन प्रचारप्रसार बढ्दै जाँदा आफ्नो पार्टीका पक्षमा मतदाता उभिने अपेक्षा गरेका छन्।

लेबर पार्टीले मतसर्वेक्षणहरूमा अगाडि रहेको अवस्थामा चुनावी प्रचार सुरु गर्‍यो।

सर्वेक्षणहरूमा आप्रवासनको चर्को विरोध गर्ने दक्षिणपन्थी रिफर्म यूके नामक पार्टि तेस्रो स्थानमा देखिन्छ।

तर यो दलको समर्थन देशैभरि समान रूपमा फैलिएका कारण त्यसलाई संसद्‌को सीटमा बदल्न यो पार्टीलाई सजिलो छैन।

यसअघि तेस्रो स्थानमा रहेको लिबरल डेमोक्र्याट्सले औसतमा १० प्रतिशत मत पाउने सर्वेक्षणहरूमा देखिन्छ। तर उनीहरूले निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर संसद्‌को निर्वाचनमा योभन्दा धेरै उपलब्धि हासिल गर्ने अपेक्षा राखेका छन्।

ऋषि सुनकको रुआन्डा योजना के हुन्छ

ऋषि सुनकले यसअघि यूकेमा शरण खोज्ने केही मानिसहरूलाई निर्वाचनअघि नै रुआन्डा पठाइने बताएका थिए।

उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा नीतिहरू बनाउने कामलाई मुख्य प्राथमिकता दिए। यसले मानिसहरू डुङ्गा चढेर 'इङ्गलिश च्यानल' पार गर्ने अभ्यासलाई निरुत्साहन गर्ने उनको तर्क छ।

तर अगाडि नै निर्वाचन घोषणा गरेपछि सुनकले आफू पुन: निर्वाचित भए पनि मात्रै यो काम अघि बढाउने बताएका छन्।

सुनकको प्रतिस्पर्धी दल लेबरले आफ्नो दल सत्तामा पुगेको अवस्थामा यस्तो योजना नै खारेज गर्ने बताएको छ। जसले कसैलाई रुआन्डा पठाइने हो वा होइन भन्ने चासो जन्माएको छ।

यो योजनाका लागि अहिले नै २४ करोड पाउन्ड खर्च भइसकेको छ। यो विषयको पक्ष र विपक्षको बहस चुनावी प्रचारप्रसारका क्रममा दुवै पार्टीको चुनावी अजेन्डा बन्ने देखिन्छ।

को हुन् सम्भावित प्रधानमन्त्री

अहिले कन्जर्भेटिभ पार्टी र लेबर पार्टीले सबैभन्दा धेरै सीट जित्ने ठानिएको छ।

हाल ४४ वर्षका प्रधानमन्त्री ऋषि सुनकले कन्जर्भेटिभ पार्टीको नेतृत्व गरेका छन्।

सन् २०२२ मा प्रधानमन्त्रीमा नियुक्त हुँदा सुनक ४२ वर्षका मात्रै थिए र उनले यूकेको आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेको इतिहास बनाएका थिए।

उनी यूकेमा प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका ब्रिटिश नागरिक हुन्।

लेबर पार्टीका नेता सर किअर स्टार्मरको उमेर ६१ वर्ष भएको छ।

उनी सन् २०२० मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेतृत्वमा पुगेका थिए।

उनी यसअघि क्राउन प्रोसिक्यूशन सर्भिस तथा पब्लिक प्रोसिक्यूशन्सका निर्देशक थिए।

निर्वाचनअघि संसद् के भयो

ब्रिटिश झण्डा र संसद् भवन

तस्बिर स्रोत, Getty Images

प्रधानमन्त्री सुनकले राजा चार्ल्सलाई औपचारिक रूपमै संसद् “विघटन” गर्न अनुरोध गरेका थिए।

त्यसको अर्थ निर्वाचनअघि संसद्‌ अधिवेशनको अन्त्य गरिनु हुन्थ्यो।

संसद्को अन्तिम अधिवेशन मे २४ मा भयो।

त्यसपछि सांसदहरूको कार्यकाल पनि सकियो।

झन्डै १०० सांसदहरू निर्वाचनमा फेरि उम्मेदवार बनेका छन्।

सुनकको सरकार चुनावी सरकार बनेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा मन्त्रालयगत कतिपय काममा रोक पनि लागेको छ।

चुनावको परिणाम सार्वजनिक भएपछि के हुन्छ

मतगणना सकिएपछि राजाले सबैभन्दा धेरै सीट जित्ने पार्टीका नेतालाई प्रधानमन्त्री बन्न र सरकार बनाउन भन्छन्।

संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।

नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्ने छ।

कुनै एउटा दलले बहुमत हासिल गर्न नसकेको अवस्थामा त्यसरी बनेको सरकारले आफ्नो मात्रै मतमा संसद्‌बाट कानुन बनाउन सक्दैन। त्यसको परिणाम 'त्रिशङ्कु संसद्' बन्छ।

यस्तो अवस्थामा सबैभन्दा ठूलो दलले अर्को पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउने निर्णय लिन सक्छ।

अथवा अल्पमतको सरकार बनाएर कुनै विधेयक पास गर्न अर्को दलका सांसदहरूको समर्थनमा निर्भर रहन सक्छ।

निर्वाचनअघि हाउस अफ कमन्स भङ्ग हुँदा सर लिन्ड्से होयल सभामुख थिए। उनी पनि उम्मेदवार बनेका छन्। मुख्य दलहरूले सभामुखविरुद्ध उम्मेदवार नउठाउने प्रचलन छ।

नयाँ संसद्को पहिलो काममा सभामुख छान्नु पनि पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।