‘म ह���ाएको १३ वर्षपछि बल्ल आमासँग मेरो भेट भयो’
![नितुकुमारी](https://cdn.statically.io/img/ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/75d7/live/45dbd300-d6d0-11ee-8f28-259790e80bba.jpg.webp)
- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज, दिल्ली
त्यो सन् २०१० मा जुन महिनाको एउटा गर्मी दिन थियो। भारतमा दुई बालबालिका आमाबाबुले पिटेकोमा ननिको मान्दै घर छाडेर हिँडे।
एघार वर्षकी राखी र सात वर्षका बब्लु खासमा एक किलोमीटर पर रहेको मामाघरमा हजुरबा हजुरआमाकहाँ जान भनेर निस्किएका थिए। तर बाटो बिराए र उनीहरू हराए।
त्यसपछि उनीहरूलाई घर फर्किन र आमा नितुकुमारीलाई भेट्न १३ वर्ष लाग्यो – त्यो पनि एक बालअधिकारकर्मीको अथक सहायताका कारण।
“हरेक दिन मैले आमा सम्झिएँ,” अनाथालयहरूमा हुर्किएका बब्लुले फोनमा भने।
“आफ्नो परिवारसँग मिलन भएकोमा म अहिले धेरै खुसी छु।”
गत डिसेम्बर महिनाको अन्तिमतिर परिवारसँग पुनर्मिलन हुँदाखेरिको भिडिओमा आमा नितुकुमारीले रुँदै बब्लुलाई अँगालो हालेको अनि ‘छोरोसँग पुन: भेटाइदिएकोमा’ ईश्वरप्रति कृतज्ञता व्यक्त गरेको देखिन्छ।
त्यसपछि बब्लुले उनीभन्दा दुई दिनअघि घर फर्किएकी दिदी राखीलाई अँगालो हाल्छन्। ��राएका केही वर्षसम्म सम्पर्कमै रहेका दिदीभाइबीच पनि यो एक दशकपछिको भेटघाट थियो।
बिछोड
दैनिक ज्यालामजदुरी गर्ने आमा नितुकुमारी र बुबा सन्तोषसँगै बब्लु र राखी उत्तर भारतको आगरा सहरमा बस्थे।
सन् २०१० को जुन १६ का दिन आमा नितुकुमारी घरमै थिइन्। काम नपाएको झोकमा उनले राखीलाई खाना पकाउन प्रयोग गरिने फलामे डाडुले हिर्काइन्।
आमा एकैछिन घरबाहिर निस्केको मौका छोपेर राखी र बब्लु घर छाडेर भागे।
“मलाई पनि नपढेको भन्दै बाबाले कहिलेकाहीँ पिट्नुहुन्थ्यो। राखीले हजुरआमाकहाँ बस्ने गरी जाऔँ भनेपछि मैले मानिहालेँ,” बब्लुले भने।
बाटो हराएका बेला उनीहरूलाई एक रिक्साचालकले रेल्वे स्टेशन लगिदिन्छन्।
![१३ वर्षपछि घर फर्किएका बब्लुको भावपूर्ण स्वागत गर्दै आमा नितुकुमारी](https://cdn.statically.io/img/ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/b210/live/94f3eea0-d6d0-11ee-b83b-0f87a864f372.jpg.webp)
त्यहाँ रेलमा उनीहरूलाई बालबालिकाको परोपकारी संस्थासँग सम्बद्ध एक महिलाले देख्छिन्।
घरभन्दा करिब २५० किलोमीटर पर मेरठ सहरमा रेल पुगेपछि ती महिलाले उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइदिन्छिन्। अनि प्रहरीले एक सरकारी अनाथालय पुर्याइदिन्छन्।
“हामीले घर जान चाहेको बताएका थियौँ। हाम्रो आमाबुबाबारे भन्न चाहेका थियौँ। तर प्रहरी र अनाथालयका अधिकारीहरूले हाम्रा परिवार खोजिदिने चासो देखाएनन्,” बब्लुले भने।
एक वर्षपछि दिदीभाइ पनि छुट्टिए – राखीलाई भारतको राजधानी दिल्लीनजिकै रहेको बालिकाहरूको आश्रयकेन्द्रमा सारियो।
केही वर्षपछि बब्लुलाई उत्तर प्रदेशको राजधानी लखनऊमा रहेको अर्को सरकारी अनाथालय लगियो।
दिदीभाइबीच पुन: सम्पर्क
महत्त्वपूर्ण अधिकारी, परोपकारी व्यक्ति वा पत्रकार अनाथालयमा आउँदा बब्लुले आफ्नो दिदीको प्रसङ्ग सुनाउँथे। उनी दिदीलाई भेट्न चाहन्थेँ।
तर उनको त्यो प्रयास सन् २०१७ मा आएर मात्र सफल हुन सक्यो।
उक्त अनाथालयका नयाँ अधिकारीलाई बब्लुले राखीलाई दिल्लीनिर कतै आश्रयकेन्द्रमा लगिएको कथा सुनाए। त्यसपछि ती अधिकारीले सहयोग गगर्ने जमर्को गरिन्।
“तिनले नोइडा तथा ग्रेटर नोइडा (दिल्ली छेउछाउका नगरहरू)मा रहेका प्रत्येक अनाथालयमा सम्पर्क गरेर राखी नाम गरेको कोही छ कि भनेर सोधपुछ गरिन्। निकै मेहनतपछि राखी फेला परिन्,” बब्लुले भने।
“म सरकारलाई भन्न चाहन्छु यसरी दिदीभाइ वा दाजुबहिनीलाई छुट्ट्याउनु भनेको निकै निर्दयी काम हो। उनीहरूलाई सँगसँगैका अनाथालयहरूमा राखिनुपर्छ। तिनलाई छुट्ट्याउनु न्यायोचित होइन,” उनले भने।
![सन् २०१० मा बब्लु र राखीका बाआमाले छोराछोरी हराएको विषयमा प्रहरीमा दर्ज गराएको उजुरी](https://cdn.statically.io/img/ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/d83a/live/ee7b1750-d6d0-11ee-8f28-259790e80bba.jpg.webp)
बब्लु र राखीको सम्पर्क पुनर्स्थापित भएपछि उनीहरूले बारम्बार फोनमा कुराकानी गरिरहे। कुराकानीका बेला घरपरिवार फेरि भेट्ने प्रसङ्ग उठ्दा राखीले दुबिधा जनाउँथिन्।
“तेह्र वर्ष भनेको सानो समय होइन। त्यसैले आमालाई भेट्नेबारे मलाई धेरै आशा थिएन,” उनले भनिन्। तर बब्लुले आशा मारेका थिएनन्।
“राखीलाई फेला पारेपछि म निकै खुसी भएँ र मलाई विश्वास भयो कि अब आमालाई पनि भेट्न सकिन्छ,” बब्लुले भने।
अनाथालयहरूको अनुभव पनि राखी र बब्लुको भिन्नाभिन्नै रह्यो। एउटा अनाथालयमा बस्दा बब्लुलाई त्यहाँ हेरचाह गर्ने मानिस तथा उनीभन्दा जेठा केटाहरूले पिट्थे। दुई पटक अनाथालयबाट भाग्ने कोसिस गरेको तर डराएर फेरि फर्किएको उनले अनुभव सुनाए।
तर राखीलाई भने आश्रयकेन्द्र चलाउने गैरसरकारी संस्थाले राम्रो व्यवहार गरेको उनले बताइन्।
के घरबाट नभागेको भए उनको जीवन फरक हुन्थ्यो होला त भन्ने प्रश्न गर्दा राखीले भनिन्, “मलाई लाग्छ जे भयो राम्रैका लागि भयो। सायद घरबाट भागेर पो मेरो जीवन राम्रो भयो कि।”
“मेरो हेरचाह राम्रो भएको थियो। कसैले पिटेन र सबैले राम्रो व्यवहार गरे। मैले राम्रो स्कूलमा पढ्ने मौका पाएँ, स्वास्थ्य उपचार राम्रो थियो र ठूला सहरनजिक बस्दा हुने अनेकौँ फाइदा पनि हामीले पायौँ,” राखीले भनिन्।
परिवार भेटाइदिने ती अभियानकर्मी
गत डिसेम्बर २० का दिन आगराका बालअधिकारवादी नरेश पारसलाई बब्लुले फोन गरे। त्यतिबेला बब्लु बेङ्गलुरुमा काम गर्थे र त्यहीँ बस्थे।
“तपाईँले धेरै परिवारको पुनर्मिलन गराइदिनुभएको छ। के मेरो परिवार भेटाइदिन सक्नुहुन्छ?” बब्लुले सोधे।
सन् २००७ देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका पारसलाई सुरुमै यो जटिल मामिला रहेको लागेको थियो। दिदीभाइलाई बुबाको नाम सम्झना थिएन। उनीहरूलाई दिइएको सरकारी आधारकार्डमा पनि बुबाको नाम भिन्नाभिन्नै थियो।
उनीहरूलाई आफ्नो जन्म भएको जिल्ला वा राज्यबारे जानकारी थिएन भने अनाथालयमा रहेका रेकर्डमा उनीहरू छत्तीसगढ राज्यको बिलासपुर सहरका भएको उल्लेख थियो।
पारसले बिलासपुरका अनाथालय एवं प्रहरीसँग गरेका सोधपुछले कुनै नतीजा दिएन।
![नरेश पारसले उनको छोराछोरीसँग भिडिओ कल गराइदिँदा आमा नितुकुमारी रोएकी थिइन्](https://cdn.statically.io/img/ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/958f/live/5654c8d0-d6d1-11ee-b83b-0f87a864f372.jpg.webp)
बब्लुले आफूले रेल चढेको स्टेशनबाहिर एउटा ठूलो रेलवे इन्जिन सजाएर राखिएको दृश्य सम्झिए। त्यसले पारसलाई सहज भयो।
“मलाई पक्का भयो त्यो आगरा क्यानटनमेन्ट स्टेशन हुनुपर्छ भनेर,” पारसले भने।
त्यहाँका नगर प्रहरीका रेकर्डहरू पढ्दै जाँदा उनको आँखामा जगदीशपुरा प्रहरी स्टेशनमा उनीहरूका बुबाले सन् २०१० को जुनमा लेखाएको उजुरी पर्यो।
तर जब उनले उक्त परिवारलाई खोज्दै त्यहाँ गए, उक्त परिवार भाडामा बस्दै आएको र अन्तै गइसकेको पत्ता लाग्यो।
राखीले चाहिँ उनकी आमाको नाम नितु भएको र उनको घाँटीमा पोलेको दाग रहेको बताएकी थिइन्।
त्यसपछि पारस आगराको लेबरचोकमा गए। त्यहाँ दैनिक ज्यालामजदुरी गर्नेहरू हरेक बिहान कामको खोजीमा भेला हुन्छन्।
उनले त्यहाँ नितुकुमारीलाई त भेटेनन् तर केही मजदुरले नितुकुमारीलाई चिनेको र उनको सन्देश पुर्याइदिने बताए।
आफ्ना छोराछोरीको खबर पाउनेबित्तिकै नितुकुमारीले प्रहरीलाई सम्पर्क गरिन् र प्रहरीले पारसलाई खबर गरिदिए।
१३ वर्षपछिको मिलन
नितुलाई भेट्दा पारसले ती दिदीभाइको फोटो अनि प्रहरीकहाँ गरिएको उजुरीको प्रतिलिपि देखाए। उनले नितुसँग बब्लु र राखीको भिडिओ कल गराइदिए, उनीहरूले एकअर्कालाई चिनिहाले।
आफूले ‘राखीलाई पिटेकोमा पछुतो’ लागेको नितुले पारसलाई बताइन्। साथै छोराछोरी खोज्न आफूले गरेका प्रयासको पनि उनले बेलीबिस्तार लगाइन्।
![परिवार मिलन](https://cdn.statically.io/img/ichef.bbci.co.uk/ace/ws/640/cpsprodpb/3cf4/live/a5b908a0-d6d1-11ee-b83b-0f87a864f372.jpg.webp)
“कसैले मेरा छोराछोरी पटना (छिमेकी राज्य बिहारको राजधानी)को सडकमा भिख माग्दै हिँडेको भनेर सुनाइदिएपछि म पैसा सापटी लिएर त्यहाँ गएँ। उनीहरूको सुरक्षित फिर्तीको कामना गर्न म मन्दिर, मस्जिद, गुरुद्वारा र चर्चमा पुगेँ,” उनले भनिन्।
छोरा र छोरीसँग भावपूर्ण मिलन हुँदा उनले आफ्नो जीवनले नयाँ ऊर्जा पाएको बताइन्।
राखीलाई आफू कुनै ‘फिल्ममा खेलिरहेको’ अनुभव भएको उनले बताइन् किनभने आफ्नो आमासँग फेरि भेट होला भन्ने आश उनले गरेकी थिइनन्।
“मलाई एकदम खुसी लाग्यो,” उनले भनिन्।
बब्लुलाई चाहिँ ‘मिश्रित’ अनुभव भएको उनी बताउँछन्।
“अचम्म के छ भने पारसलाई हाम्रो परिवार भेट्टाउन जम्मा एक साता लाग्यो। मेरो बारम्बारको निवेदनपछि पनि मलाई मद्दत गर्न नसकेका प्रहरी तथा गैरसरकारी संस्थाका मानिसहरूसँग भने रिस उठेको छ। तर आमासँग कुरा गर्न पाउँदा म औधी खुसी छु।”
“आमाले रुँदै किन छोडेर गएको? भनिन्। मैले भनेँ मैले आमालाई कहिल्यै छाड्ने थिइनँ तर म हराएँ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।