के नयाँ अस्त्र परीक्षण गरेको उत्तर कोरियाको भनाइ झुट्टो हो?

क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले एक भन्दा बढी युद्धशीर्षसहितको क्षेप्यास्त्र परीक्षण भन्दै तस्बिर सार्वजनिक गरेको छ
  • Author, टेसा वोङ
  • Role, एशिया डिजिटल रिपोर्टर, बीबीसी न्यूज

यसै हप्ता गरिएको अस्त्र परीक्षण उत्तर र दक्षिण कोरियाबीचको विवादको ताजा विषय बनेको छ। प्योङ्याङले आफूले अत्याधुनिक एकभन्दा धेरै युद्धशीर्षसहितको क्षेप्यास्त्र प्रहार गरेको बताएको भए पनि सोलले त्यो झुट्टो भएको आरोप लगाएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आफ्नो परीक्षण ‘सफल’ भएको भन्दै प्रमाणका रूपमा बिहीवार तस्बिर सार्वजनिक गरेको घण्टौँपछि दक्षिण कोरियाले त्यसलाई ‘छल र अतिशयोक्ति’ भन्दै त्यो विफल भएको सङ्केत दिने आफूसँग भएका प्रमाण सार्वजनिक गरेको थियो।

उत्तरको दाबीको सत्यताबारे विश्लेषकहरू पनि अन्योलमा देखिएका छन्।

पछिल्लो विवादले उत्तर कोरियाको अस्त्र विकासको सत्यता जाँचमा रहेका जटिलतालाई उजागर गरेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका माझ उत्तरले उक्त प्रयासलाई निरन्तरता दिएको छ।

यदि उत्तर कोरियाको दाबी सत्य भएको खण्डमा त्यसले उसको क्षेप्यास्त्र कार्यक्रममा महत्त्वपूर्ण प्रगति भएको देखाउनेछ।

प्योङ्याङले के भनिरहेको छ?

बहु युद्धशीर्ष भएका क्षेप्यास्त्रहरूबाट प्रतिरक्षा  गर्नु जटिल हुने गर्छ र यसलाई विकास गर्ने प्रविधि पनि चुनौतीपूर्ण रहेको छ। सन् १९६० मा पहिलो पटक संयुक्त राज्य अमेरिकाले विकास गरेको यस्तो क्षमताको क्षेप्यास्त्र अहिले यूके, फ्रान्स, रुस र चीनसँग मात्रै भएको जानकारीमा छ।

त्यसमा आफ्नो पनि पहुँच पुग्न लागेको भन्दै प्योङ्याङ प्रसन्न भएको थियो।

केही समय यता विज्ञहरूले उत्तर कोरियाले अन्तत: एमआईआरभी क्षमताको अस्त्र विकास गर्ने सम्भावना रहेको बताउने गरेका थिए।

एमआईआरभी प्रविधि अन्तर्गत कैयौँ युद्धशीर्षहरूलाई एउटै क्षेप्यास्त्रमार्फत् प्रक्षेपण गर्न सकिन्छ। क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अलग हुने ती युद्धशीर्षहरूलाई उनीहरूकै ��फ्ना रकेटहरूले निशानाहरूमा हमला गर्न आवश्यक शक्ति प्रदान गर्ने गर्छन्।

त्यसो गर्दा युद्धशीर्षहरूलाई फरक फरक वेग र विभिन्न दिशामा प्रहार गर्न सकिन्छ। यसको अर्थ दुईवटा युद्धशीर्षहरूले एक अर्का भन्दा सयौँ किलोमिटर पर निशाना लगाउन सक्छन्। यही कारणले यो अस्त्र विशेष रूपमा शक्तिशाली ठानिन्छ।

उत्तर कोरियाली क्षेप्यास्त्रबाट डिकोइ अलग भइरहेको तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियाली सञ्चारमाध्यमले यो फोटोले क्षेप्यास्त्रबाट डिकोइ अलग भइरहेको देखाएको जनाएको छ

प्योङयाङले बिहिवार आफूले ‘सफलतापूर्वक प्रत्येक युद्धशीर्षलाई अलग बनाउने र निर्देशित ढङ्गले नियन्त्रण गर्ने परीक्षण गरेको’ जनाएको छ। उसका अनुसार उसले मध्यम तहको ठोस इन्धनबाट चल्ने बलिस्टिक क्षेप्यास्त्रमा तीनवटा युद्धशीर्ष र ‘डीकोइ’ भनिने शत्रुलाई झुक्क्याउने एउटा उपकरण प्रयोग गरेको जनाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा सुनिश्चित गर्न र युद्धशीर्षहरूको उडान मापनका लागि सो क्षेप्यास्त्रले १७० देखि २०० किलोमिटरको ‘छोटो दुरी’ मात्रै तय गरेको थियो।

उक्त युद्धशीर्षलाई तीनका निशानामा ‘सही तरिकाले निर्देशित गरिएको’ उल्लेख गर्दै झुक्क्याउने उपकरण पनि प्रभावकारी ढङ्गले प्रक्षेपण भएको एन्टी एअर रेडारले देखाएको जनाइएको छ।

उत्तरले त्यसलाई आफ्नो क्षेप्यास्त्र शक्तिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै उच्च महत्त्व दिइएको ‘एमआईआरभी सामर्थ्य हासिल गर्ने उद्देश्य’ राखिएको जनाएको छ।

उत्तर कोरियासँग भएका क्षेप्यास्त्र

दक्षिण कोरिया के भन्छ?

दक्षिण कोरियाको सेनाले तत्कालै यी दाबीहरूलाई खारेज गरिदिएको छ। उसका अनुसार उक्त ‘उडान सामान्य थिएन’ भने उडान भइरहँदा नै अस्त्रहरू विस्फोट भएका थिए।

एउटा भिडिओ पनि सार्वजनिक गरेको दक्षिण कोरियाले प्रारम्भिक चरणमा नै उडान अनियन्त्रित भएको र त्यसले मध्य आकाशमा नै विस्फोट गराएको जनाएको छ।

सैनिक अधिकारीहरूले आफूहरूले ठूलो परिमाणमा भग्नावशेष पहिचान गरेको र त्यो सफल परीक्षणबाट निस्कने भन्दा धेरै रहेको बताएका छन्।

उनीहरूले युद्धशीर्ष र डीकोइ क्षेप्यास्त्रबाट अलग भइरहेको उत्तर कोरियाले सार्वजनिक गरेको तस्बिर गएको मार्चमा गरिएको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षणको भएको उल्लेख गरेका छन्।

जापानको रक्षा मन्त्रालयले उक्त क्षेप्यास्त्रले अधिकतम १०० किलोमिटर उचाइ हासिल गरेको जनाएको छ। त्यसको अर्थ त्यो बाह्य अन्तरिक्षमा गएन र पृथ्वीकै वायुमण्डल भित्रै बसिरह्यो भन्ने हुन्छ।

एशियन इन्स्टिट्यूड अफ पोलीसी स्टडिजका अनुसन्धानकर्ता याङ यूकेका बुझाइमा त्यसको अर्थ ती युद्धशीर्षहरूलाई वायुमण्डलमा पुन प्रवेश गर्दा चाहिने उच्च ताप र चापसँग जोडेर परीक्षण गरिएको छैन। “त्यही भएर हामी उनीहरूका सामर्थ्यबारे भन्न सक्दैनौँ,”उनले भने।

सीमा क्षेत्रमा बस्ने मानिसहरूले यस्तो दृश्य देखेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सीमा क्षेत्रमा बस्ने मानिसहरूले यस्तो दृश्य देखेका थिए

सीमा क्षेत्रमा बस्ने गरेका दक्षिण कोरियालीहरूले उक्त अस्त्र परीक्षणको पत्तो पाएका थिए। दक्षिण कोरियाली सञ्चारमाध्यमले एक जना नागरिकले खिचेको तस्बिर प्रयोग गरेको छ जसमा आकाशमा सेतो धुवाँजस्तो देख्न सकिन्छ।

उत्तर कोरियाली अस्त्र विज्ञ र अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी भान भन डाइपनले उक्त भिडिओले ‘ठूलो विस्फोटन वा ठूलो असफलता’ भएको सङ्केत नदिने र सेतो धुवाँ उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमको तस्बिरसँग मेल खाने ठान्छन्।

उनले भने, “तर केही गडबडी नै भएन भन्न मिल्दैन।” उनले युद्धशीर्ष छुट्टिएका र स्वतन्त्रतापूर्वक उडेका प्रमाणहरू अझै नदेखिएको बताए।

वासिङ्टनले जापान र दक्षिण कोरियासँग मिलेर उक्त कदमको निन्दा गर्नुबाहेक खासै प्रतिक्रिया दिएको छैन। तर भन डाइपन अमेरिकी सरकारसँग उत्तर कोरियाको अस्त्र परीक्षणको जाँच गर्ने सबैभन्दा बढी स्रोत रहेको भन्दै उसले थप कुराहरू ल्याउनुपर्ने बताउँछन्।

“अन्यथा उत्तरले सोझै प्रचारप्रसारमा जीत हासिल गर्नेछ,” उनले भने।

जेक क्वान र रेचल लीको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न त��ा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।