कोरियाका कतिपय आमाबुवा किन बन्दी जसरी बस्न रुचाउँछन्?

स्वेच्छिक ढङ्गले कतिपय आमावुवाहरू एक्लै सेलमा समय बिताउन थालेका हुन्

तस्बिर स्रोत, Korea Youth Foundation

तस्बिरको क्याप्शन, स्वैच्छिक ढङ्गले कतिपय कोरियाली आमाबुवाहरू एक्लै सेलमा समय बिताउन थालेका हुन्
  • Author, ह्युजङ किम
  • Role, बीबीसी कोरियन

दक्षिण कोरियाको ह्यपिनेश फ्याक्ट्रीका साना कोठाहरूबाट बाहिरी विश्वलाई जोड्ने एउटा सानो प्वाल छ जहाँबाट खानेकुरा भित्र पठाइन्छ।

पाँच वर्गमिटरका कोठाहरूमा फोन वा ल्यापटप लैजान पाइँदैन र त्यहाँ बस्ने मानिसहरूको साथी भनेको भित्ता मात्रै रहने गर्छ।

उनीहरूले कैदीहरूले लगाउने जस्तो निलो पोसाक पनि पहिरिन सक्छन् तर उनीहरू थुनुवा होइनन्। उनीहरू ‘कारावासको अनुभव’ लिन उक्त केन्द्रमा आएका हुन्।

अधिकांशबीच एउटा समानता छ: उनीहरूका कुनै एक सन्तान सामाजिक रूपमा अलग भएका छन्।

एकान्त कारावास कोठा

ती एकान्तवासीहरूलाई चिनाउन जापानमा सन् १९९० को दशकमा ‘हिक्कीकोमोरी’ शब्द प्रचलनमा आएको थियो। सामाजिक रूपमा गम्भीर ढङ्गले टाढिएको व्यवहार देखाउने व्यक्तिहरूलाई जनाउन उक्त शब्द प्रयोगमा ल्याइएको थियो।

गएको अप्रिल यता अभिभावकहरू १३ हप्ता लामो शैक्षिक कार्यक्रममा सहभागी भइरहेका छन् जसलाई कोरिया युथ फाउन्डेशन र ब्लु ह्वेल रिकभरी सेन्टर नामक गैरसरकारी संस्थाहरूले सञ्चालन गरिरहेका छन्।

यो योजनाको उद्देश्य आफ्ना सन्तानसँग कसरी राम्रोसँग सञ्चार गर्ने भनेर सिकाउनु हो। यो कार्यक्रम अन्तर्गत तीन दिन ग्याङवान प्रान्तमा रहेको एउटा एकान्त कारावास कक्षजस्तो देखिने कोठामा बिताउनुपर्ने हुन्छ।

त्यसरी एक्लिएर बस्दा त्यसले अभिभावकहरूमाझ आफ्नो सन्तानबारेको बुझाई गहिरो बनाउने विश्वास गरिएको छ।

‘भावनात्मक जेल’

जीन योङ-हेइका छोरा आफ्नो सयनकक्षमा तीन वर्ष देखी एकान्तवासमा छन्। तर आफू स्वयंले कारावासको अनुभव लिँदा नाम परिवर्तन गरिएकी जीनले २४ वर्षका छोराको ‘भावनात्मक जेल’लाई केही राम्रोसँग बुझ्न सकिन्।

उनी भन्छिन्, “मैले के गल्ती गरे जसका कारण यस्तो भयो भनेर म सोचिराख्थे र त्यसो गर्नु ज्यादै पीडादायी छ,” ५० वर्षकी उनले भनिन्।

“तर जब मैले पछाडि फर्किएर हेरेँ, मैले केही प्रष्ट हुँदै गएँ।”

हिकिकोमोरी शब्द जापानबाट आएको हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिकिकोमोरी शब्द जापानबाट आएको हो (फाइल तस्बिर)

कुरा गर्न अनिच्छा

आफ्ना छोरा तीक्ष्ण भएको जीन सम्झन्छिन्। उनी र उनका श्रीमानलाई उनीबाट ठूलो आशा थियो।

तर उनी बारम्बार बिरामी पर्थे। मित्रताहरू कायम राख्न सङ्घर्ष गर्थे र अन्ततः उनमा खाने आचरणसम्बन्धी समस्या देखा पर्‍यो जसले उनलाई विद्यालय जानै गाह्रो हुन थाल्यो।

जब उनका छोरा विश्वविद्यालय जान थाले, सुरुमा उनले राम्रो गरे। तर एक दिन उनी पूर्ण रूपमा पछि हटे।

आफ्ना छोराले ढोका बन्द गरेर बसेको, व्यक्तिगत स्वास्थ्य र खानेकुरालाई बेवास्ता गरेको कुरा देखेर उनको मन दुख्यो।

तनाव, परिवार र मित्रहरूसँगको सम्बन्धमा समस्या र राम्रो विश्व विद्यालयमा भर्ना नपाएको जस्ता कुराले उनका छोरामा प्रभाव पारेको हुनसक्छ। वास्तवमा कहाँ परिस्थिति बिग्रियो भन्नेबारे उनी आमासँग कुरा गर्न अनिच्छुक रहे।

जब जीन ह्यापिनेश फ्याक्ट्रीमा आइन् उनले अन्य एक्ला युवा व्यक्तिहरूले लेखेका नोटहरू अध्ययन गरिन्।

“मेरा छोरा मसँग धेरै कुरा गर्दैन थिए त्यही भएर उनको मस्तिष्कमा के छ मलाई थाहा थिएन।”

“यो नोटहरू पढेपछि मलाई के महसुस भयो भने ‘उनले मौनताबाट आफ्नो रक्षा गर्न खोजे किनभने कसैले पनि उनलाई बुझेनन्।”

पार्क हान-सील (वास्तविक नाम परिवर्तन) आफ्ना २६ वर्षका छोरा लिएर यहाँ आएकी छन्। उनका छोराले बाहिरी विश्वसँग सबै किसिमको सम्पर्क तोडेको सात वर्ष पुग्य���।

घरबाट केही पटक भागेपछि अहिले उनी खासै आफ्नो कोठाबाट बाहिरिँदैनन्। श्रीमती पार्कले उनलाई मनोपरामर्शदाता र चिकित्सककोमा पनि लगिन् तर उनका छोराले सिफारिस गरिएको मानसिक स्वास्थ्यसम्बन्धी औषधि लिन अस्वीकार गरे। उनी भिडिओ गेम खेल्न भने तल्लीन रहे।

अन्तरव्यक्तिगत सम्बन्ध

पार्क आफ्ना छोरासम्म पुग्न अझै सङ्घर्ष गरिरहेकी छन् तर एकान्तवाससम्बन्धी कार्यक्रममार्फत् उनले उनका भावनाहरू बुझ्न थालेको अनुभव गरेकी छन्।

उनी भन्छिन्, “मेरो छोराको जीवन उनलाई कुनै निश्चित खालको ढाँचामा जान दबाब नदिई स्वीकार गर्नु महत्त्वपूर्ण छ भन्ने मैले महसुस गरेको छु।”

दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले सन् २०२३ मा १९ देखि ३४ वर्षबीचका ३५ हजार व्यक्तिहरूको सर्वेक्षण गर्दा सहभागीहरू मध्ये ५ प्रतिशत भन्दा बढी स्वयं एकान्तवासमा थिए।

यदि बृहत् जनसङ्ख्यासँग तुलना गर्ने हो भने त्यसको अर्थ करिब ५ लाख ४० हजार मानिसहरू त्यस्तै परिस्थितिमा रहेको हुन सक्छन्।

सर्वेक्षणले त्यस्तो अवस्था देखिनुका प्रमुख कारणहरूलाई यसरी प्रस्तुत गरेको छ:

-रोजगारी पाउन कठिनाई (२४.१ प्रतिशत)

-अन्तर व्यक्तिगत सम्बन्ध (२३.५ प्रतिशत)

-पारिवारिक समस्या (१२.४ प्रतिशत)

-स्वास्थ्य समस्या (१२.४ प्रतिशत)

भान्सामा एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जापानले लामो समयदेखि हिकीकोमोरी समस्या खेपिरहेको छ, वयोवृद्ध अभिभावकहरूले अहिले पनि वयस्क सन्तानहरूलाई सहयोग गरिरहेका छन् (फाइल तस्बिर)

जापानमा सन् १९९० को दशकमा देखिएको हिकीकोमोरीको पहिलो लहरले मध्यम उमेरका व्यक्तिहरू आफ्ना बढी उमेरका अभिभावकहरूसँग निर्भर रहेको देखाएको थियो।

र निवृत्तिभरणमा निर्भर त्यस्ता अ���िभावकमध्ये कतिपय वयस्क छोराछोरीलाई समर्थन गर्ने प्रयासमा गरिबी र मानसिक समस्यामा फसेका थिए।

क्युङ ही विश्वविद्यालयको समाजशास्त्र विभागका प्राध्यापक जङ गुन निश्चित समयभित्र जीवनका महत्त्वपूर्ण उपलब्धि हासिल गरिसक्नु पर्ने भन्ने दक्षिण कोरियाली समाजको अपेक्षाले विशेषगरी आर्थिक गतिरोध र कम रोजगारी देखा परिरहेको समयमा युवाहरूमा तनाव बढाएको बताए।

सन्तानको उपलब्धि अभिभावकको सफलता रहेको बुझाइले सम्पूर्ण परिवार नै एकान्तपनको दलदलमा फसाउन भूमिका खेलेका ठानिन्छ।

कैयौँ अभिभावकहरूले सन्तानको सङ्घर्षलाई हुर्काइको विफलतासँग तुलना गरेर ग्लानिको भावनासमेत विकास गर्ने गरेको पाइन्छ।

प्राध्यापक जङ भन्छन्, “कोरियामा अभिभावकहरू अधिकांश मौखिक अभिव्यक्ति भन्दा पनि व्यवहारिक कामहरूले प्रेम र आफ्ना भावनाहरू अभिव्यक्त गर्छन्।”

“अभिभावकहरूले सन्तानको शिक्षामा आफ्नो कठोर परिश्रमबाट लगानी गर्नुलाई कन्फ्युसियन संस्कृतिको एउटा उदाहरण मानिन्छ जसले जिम्मेवारीमा जोड दिन्छ।”

कतिपय अभिभावकहरूले आफ्ना सन्तानबारेका बुझाइमा वृद्धि भएको बताइरहेका छन्

तस्बिर स्रोत, Korea Youth Foundation

तस्बिरको क्याप्शन, कतिपय अभिभावकहरूले आफ्ना सन्तानबारेका बुझाइमा वृद्धि भएको बताइरहेका छन्

ब्लु ह्वेल रिकभरी सेन्टरका निर्देशक किम ओकरान स्वयं एकान्तवाद रोज्ने युवा व्यक्तिहरूलाई ‘पारिवारिक समस्या’ का रूपमा हेरिने भन्दै धेरै अभिभावकहरूले पनि सम्पर्क टुटाउने गरेका बताउँछन्।

उनले आफूलाई लिएर धारणा बनाइने डरले कैयौँ युवाहरू परिवारका नजिकका सदस्यहरूसँग पनि कुरा गर्न नसकिरहेको बताए।

“उनीहरूले त्यो सवाललाई बाहिर ल्याउन सक्दैनन्, अभिभावक स्वयं पनि त्यसले गर्दा एक्लो हुन थाल्छन्,” किमले भने।

“उनीहरू बिदाको समयमा पारिवारिक भेटवार्ताहरूमा पनि आउन बन्द गर्छन्,” उनले थपे।

'ख्याल राख्नेछु'

ह्यापिनेश फ्याक्ट्रिमा सहयोग खोज्दै आउने अभिभावकहरू आफ्ना सन्तान सामान्य जीवनमा फर्कने दिनको प्रतीक्षामा छन्।

एकान्तवास छाडेर छोरा फर्किएपछि तपाईँ उनलाई के भन्नुहुन्छ भनेर सोध्दा जीनका आँखा आँसुले भरिए।

“तिमीले यति धेरै भोग्यौ,” काँपिरहेको स्वरमा उनले भनिन्, “त्यो कठिन थियो, होइन? म तिम्रो ख्याल राखिरहन्छु।”

यदि यो लेखमा छलफल गरिएका समस्या तपाईँले पनि अनुभव गरिरहनुभएको छ भने आफ्नो स्थानीय क्षेत्रको मानसिक सेवा प्रदायकबाट सहयोग लिनुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू ��ेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।